मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहिं पिउनेलाई बढी असर : अध्ययन
एएनआई,
प्रकाशित २०७६ असोज ३० बिहिबार
944
Shares
वासिङ्टन डिसी। के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ। तर तपाईँको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो। अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिए।
मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनले बताए।
उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि बताए। उनका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ।
मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ।
अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन्। सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो।