साइबेरियाली सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जना वेपत्ता
एएफपी,
प्रकाशित २०७६ कार्तिक २ शनिबार
409
Shares
मस्को। रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन्। घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ। गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ।
खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन्। घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलीकोप्टर खानीमा पुगेका र वेपत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापनमामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ।
तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ।
रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानूनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपुर्याइँदा बर्षेनी सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ।