- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर–१ बराहपोखरीले मृत्यु भएका र बसाईसराई गरेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेर हिनामिना गरेको पाईएको छ ।
वडा कार्यालयले वडाभित्रका मृत्यु भएका व्यक्तिको नाममा लामो समयदेखि सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाईएको हो ।
यस्तै, बसाईसराई भएका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता हिनामिना भएको छ । बराहपोखरी गाउँपालिका वडा नम्बर–१ घर भएका र विद्य्वातर्फ मृत्यु मत्यु भएका खड्गमाया थापा मगर, गर्भीमाया तामाङ, दान्जीमाया तामाङ, निरमाया मगर, विष्णुलक्ष्मी श्रेष्ठ र मदनकुमारी राईको नाममा लामो समयदेखि वडाध्यक्ष टंक मगर र सहसचिव हुकुम राईले रकम निकासा गरेर हिनामिना गर्ने गरेको पाईएको हो ।
यस्तै, जेष्ठ नागरिकतर्फ मृत्यु भएका हर्कबहादुर मगर, सनमान थापा मगर, लालबहादुर राई, मनमाया राई, बुद्धिमान आले मगर, भक्तबहादुर कार्की, तामाङ फूलमाया, बदमाया मगर, बमबहादुर खत्री, देवी प्रसाद श्रेष्ठ, बलमाया मगर, तिलकबहादु राई, डम्बरकुमारी श्रेष्ठ, ज्ञानलक्ष्मी श्रेष्ठ, चन्द्रमाया खड्का, कौशिलादेवी आचार्य र कपिलबहादुर थापाको नामको भरपाई पेस गरेर रकम निकासा भएको छ ।
यस्तै, बसाईसराई गएका व्यक्तिको नाममा पनि भरपाई पेश गरेर रकम निकाल्ने गरिएको छ । बसाईसराई गरेर विराटनगर गएको भएपनि उनको नामको भरपाईमा रकम निकासा हुने गरेको छ ।
वडा कार्यालयले मंगली घिमिरेको बसाईसराईको विवरणमा उनको नाम नहटाउँदा उनले बराहपोखरी र विराटनगर दुवै ठाउँबाट दोहोरो सुविधा लिएकी छिन् । यस्तै, गंगामाया पौडेल उदयपुर बसाईसराई गएको भएपनि उनले पनि दोहोरो सुविधा लिईरहेकी छिन् । यस्तै, विष्णुकुमारी श्रेष्ठले पनि दोहोरो सुविधा लिएकी छिन् ।
‘हाम्रा हजुरबुबा कोपिलबहादुर थापाको २०७४ साल फागनु २३ गते आफन्तले वडा कार्यालयमा मृत्यु दर्ता गर्यौं । तर, हजुरबुबाको नाममा हालसम्म पनि भरपाई पेश गरेर वडा कार्यालयले पैसा निकासा गरेको पाईयो, त्यो पैसा हामीकहाँ आएको छैन ।’, कोपिल बहादुरका नाति राजन थापाले भने ।
‘२०७५ साल बैशाख १२ गते गर्भीमाया तामाङको मृत्यु भयो । हामीले असार १२ गतेसम्मको भत्ता लियौं । त्यसपछि वडा कार्यालयले सासुको पट्टा राखेर अब मरेकाको नाममा पैसा आउँदैन भन्दै पठाईदियो त्यसपछि हामीले वास्ता गरेनौँ । तर अहिले वडा कार्यालयले पैसा निकासा चाहिं गरेको थाहा भयो । हामी कहाँ चाहिंपैसा आएको छैन ।’, गर्भीमायाकी बुहारी रीता तामाङले बताइन् ।
वडा सचिव पुष्पराज राईलाई मृत्यु भएका व्यक्तिको नाम भत्ता कट्टा गर्न आफूले भनेको भए पनि उनले मिलाएर गर्नुपछि भन्दै नाम कट्टा गर्न नमानेको सहायक सचिव हुकुम राईले बताए । उनले भने, ‘गल्ती भएको हो, सचिव ज्यूको कारणले । सचिव ज्यूले मेरो नामबाट पेश्की निकाल्न लगाएर मलाई पनि मुछे । सचिव ज्यूको सिफारिसमा मैले पैसा निकासा गर्ने गरेको हुँ । त्यसपछि पैसा कसले हिनामिना गर्यो उहाँहरुले के गर्नुभयो मलाई थाहा छैन ।’
यस विषयमा थप बुझ्न वडा सचिव पुष्पराज राईसंग सम्पर्क हुन सकेन । वडाध्यक्ष टंक मगरले फोन उठाएनन् ।
गाउँपालिकामा उजुरी
मृत्यु भएका तथा बसाईसराई गरेका व्यक्तिको नाममा लामो समयदेखि सामाजिक सुरक्षा भत्ता निकासा भएको पाईएपछि बराहपोखरी गाउँपालिका वडा नम्बर–१ का स्थानीयले छानविन गरि कारवाहीको माग गर्दै गाउँपालिकाको कार्यालयमा उजुरी दिएका छन् । वडाध्यक्ष टंक मगर र सहसचिव हुकुम राईको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै असोज १ गते स्थानीयले उजुरी दिएका हुन् ।
गलत विवरण पेश गरेर वडा कार्यालयले रकम भने निकासा गरेको देखिएकोले छानबिन गरी कारवाहीको माग गर्दै उजुरी दिईएको स्थानीय विदुर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘मरेको ३५ दिनभित्रमा आफन्तले मृत्यु दर्ता पनि गरेका छन् ।
तर, झुटो विवरण पेश गर्दै राज्यको आँखा छलेर गोजी भर्न पाईन्छ र ?’ उजुरीका विषयमा गाउँपालिका प्रमुखसंग बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।