एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न खोज्ने ६ पक्राउ
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
419
Shares
काठमाडौं । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आइतबार पक्राउ परेका छन् । आइतबार अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भई हाल ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
उपभोक्ताले सुन खरीद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए । उनीहरुका साथबाट एक किलो नक्कली सुन र छ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।