arrow

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
chile-protests.jpg

सान्टियागो। चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ। राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ।

मेट्रोको भाडा वृद्धिको विरोधबाट शुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ। प्रहरीले हालसम्म लुटपाट र अरु गम्भीर अपराधको आरोपमा ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन शुरु गरेका थिए। तर यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररुप लिएको छ, र प्रदर्शन देशव्यापी हुन थालेको छ।

राजधानी सान्टीयागोमा कम्तीमा पाँच वटा भूमिगत स्टेशन र बसहरुमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन्। धेरैवटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन्।

राष्ट्रपति पिनेराले शनिबार सवारी साधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरु रोकिएका छैनन्। सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ