arrow

घुस लिंदै गैरकानुनी रुपमा विदेश उडाउने अध्यागमन कार्यालय एयरपोर्टका १३ कर्मचारीबिरुद्ध मुद्दा

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
kamal-prasad.jpg

काठमाडौं । कम्प्युटरको तार नै निकालेर अभिलेख नै नराखी गैरकानूनी रुपमा खाडीराष्ट्रमा महिला कामदार(हाउसमेड) पठाउने कार्यमा संलग्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ कर्मचारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकाहरुमा ११ अध्यागमन अधिकृत छन् भने २ जना कम्प्युटर अप्रेटर छन् ।

मुद्दा दायर गरिएका अध्यागमन अधिकृतहरुमा मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईँ छन् । कम्प्युटर अप्रेटरहरुमा रोशन गौतम र भोज प्रकाश न्यौपानेबिरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । पराजुलीको मोवाइल म्यासेजको चेकजाँच गरेपछि अरु ११ अधिकृत र २ कम्प्युटर अधिकृतले समेत गैरकानुनी रुपमा खाडी राष्ट्रदेखि यूरोपका फ्रान्स र स्पेनमा मानवतस्करी गरेको खुलासा भएको थियो । अध्यागमन विभागले नै २०७६ साउन २१ गते अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई नियन्त्रणमा लिएर अख्तियारमा बुझाएको थियो । अख्तियारले गरेको अनुसन्धानका क्रममा प्रतिब्यक्ति १ लाख ५० हजार रुपैयाँ घुस लिएर खाडी राष्ट्रमा हाउसमेड पठाउने कार्य उनले गरेको खुलेको थियो ।

पराजुलीसहितका अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषहरुलाई विभिन्न किसिमका व्यक्ति (विचौलिया) हरुले आर्थिक प्रलोभन देखाएर प्रचलित कानून तथा निर्देशिकाहरुले श्रमस्विकृति प्रदान गर्न रोक लगाएका घरेलु कामदार लगायतका पेशाहरुमा खाडी लगायतका विभिन्न मुलुकहरुमा पुर्‍याएका थिए ।

बिचौलियाहरुबाट प्रतिब्यक्ति १ लाख ५० हजार घुस लिएर भिजिट र टुरिष्ट भिसामा पठाउने गरेका थिए ।  यसरी पठाइएका महिला तथा पुरुषहरु अलपत्र परेका समाचारहरु सँगसँगै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले विचौलियाहरुसँग गैरकानूनी आर्थिक लाभ लिएर मिलेमतोमा कतार तथा दुवई मुलुकका भिजिट भिसामा प्रस्थान अनुमति प्रदान गरी त्यस्ता विचौलियाहरुलाई सघाउ पुर्‍याउने कार्यमा संलग्न २०७६ साउन ४ र १५ गते गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले ड्यूटीमा रहेकै अवस्थामा डेस्कमा रहेको कम्प्यूटरको नेटवर्क थुतेर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद ब्यक्तिहरूलाई बारम्बार सम्पर्क गरी लाइनमा रहेका महिला यात्रीहरूलाई बोलाई करिव २० जनालाई कुनै पनि कागजातहरू रूजु नगरी अध्यागमन प्रस्थान अनुमति दिएको जानकारी आयोगले पाएको थियो ।

 आयोगमा प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानमा संकलित प्रमाण तथा तथ्यहरुले आरोपि कमल प्रसाद पराजुलीले प्रयोग गर्ने मोवाइल सम्पर्क नंवरहरुको आधारमा प्राप्त हुन आएका कलरेकर्ड एवं खुल्न आएका तथ्यहरु उपर अध्ययन गर्दा पराजुली र सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतहरु वीच मेसेज आदानप्रदान समेत गरी २ सय ४८ जना व्यक्तिहरुलाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भए गरेको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले १३ जना कर्मचारीसँग जनही २४ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ