arrow

नेपाल वायुसेवा निगम नेतृत्वमा मन्त्रीकै ट्राभल्सका संचालकलाई ल्याउने तयारी

कार्यकारी अध्यक्ष बनाउन एक महिनामै दुई कार्यदल गठन

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
yogesh-ghanashyam-sapkota.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीमा भविष्य बोकेका नेताका रुपमा योगेश भट्टराईलाई लिने गरिन्छ। भनिन्छ नेताको परीक्षण शासन सत्तामा बिराजमान भएपछि हुने गर्दछ। शासनमा जानु अघी जुन छवि उनको थियो, शासनबाट बाहिरिंदा पनि त्यस्तै खोज्ने जमात नेकपामा उत्तिकै छ । तर उनी शासनमा गएपछि भट्टराई एकपछि अर्को विवादमा पर्दै गएका छन्।

भट्टराईले सचिवालयमा राखेका स्वकीय सचिवदेखि निजी सचिव नै परिपक्व देखिएनन्। स्वकीय सचिव प्रेम गुरागाईले भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको १ महिना नपुग्दै श्रीमती भूमिका पौडेललाई पर्यटन बोर्डमा जागिर लगाएको समाचार सार्वजनिक भयो। भट्टराईले साला विश्वम्भर घिमिरे र ताप्लेजुङका पत्रकार पिताम्बर सिग्देललाई भिजिट नेपाल २०२० को सचिवालयमा राखे। भिजिट नेपाल २०२० को सचिवालयमा उनीहरुलाई आकर्षक तलव सुविधा दिएर राखेपछि उनी पनि नातावादबाट मुक्त हुन नसकेको आरोप लागेको छ। यस्तै घेरा तोड्न नसकेका कारण मन्त्री भएपछि भट्टराईको ब्यक्तित्व क्षयीकरण हुँदै गएको टिप्पणी नेकपा वृत्तमै छ।

हवाई कम्पनीहरुसँग छलफल नै नगरी ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय पनि विवादमा पर्‍यो । निजगढ विमानस्थलको बिरोध भएमा १० लाखको जुलुस निकाल्ने कुराले पनि उनी विवादमा तानिए। 

मन्त्री भट्टराईले नेपाल वायुसेवाका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउन कार्यदलमाथि कार्यदल गठन गर्दै आएका छन्। पूर्व सचिव सुशील घिमिरेको अध्यक्षतामा निगम सुधारका लागि सुझाव दिन गठन गरेको कार्यदलमा वाइडबडी काण्डमा नाम जोडिएका मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई पनि राखे।

लामिछाने वाइडबडी खरिद प्रकरणमा निगमको बोर्ड सदस्यका हैसियतले निर्णयकर्ता हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका लामिछानेलाई मन्त्री भट्टराईले निगम सुधार कार्यदलमा राखे। जुन कार्यदलले निगमलाई निजीकरण गर्न सुझाव दिएको छ। निगम हत्याउन चाहनेहरुको इशारामा घिमिरे नेतृत्वको कार्यदलले त्यस्तो सुझाव दिएको आरोप लाग्ने गरेको छ।

यसैगरी सुशील घिमिरे समितिले प्रतिवेदन बुझाएको १ महिनामै २०७६ कात्तिक ४ मा पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा ७ सदस्यीय हवाई नीतिको बारेमा मस्यौदा तयार गर्न भट्टराईले अर्को कार्यदल गठन गरेका छन्।

कार्यदलमाथि कार्यदल गठन गरी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने योजनामा मन्त्री भट्टराई लागिपरेको आरोप लागेको छ। खरेलले ओशाका उडानदेखि निगम सुधारको पक्षमा काम गरेपछि निगम नै हत्याउन लागिपरेकाहरुले उनको विकल्प खोजीमा जुटेका छन्। हुनत खरेललाई प्रधानमन्त्री केपी ओलीले ल्याएका हुन्। त्यसकारण मन्त्री भट्टराईले प्रत्यक्ष खरेलको विपक्षमा काम नगरेपनि परिस्थिति उनको विपक्षमा बनाउने प्रयास भने गरिरहेको पनि बताइएको छ।

कार्यकारी अध्यक्ष खरेलको बारेमा नकारात्मक कुराहरु प्रधानमन्त्रीकोमा पुर्‍याउनका लागि ब्यवसायीहरुको एक हुल नै परिचालन गरिएको वालुवाटार स्रोत बताउँछ। कतिपय अवस्थामा भट्टराईले पनि खरेलले काम गर्न नसकेको कुरा बताउने गरेका छन्। 

मन्त्री भट्टराईले निगमको कार्यकारी अध्यक्षमा आफ्नो समेत लगानी रहेको गोचाली ट्राभल्सका संचालक भगीरथ सापकोटालाई ल्याउन लागेको स्वयं उनी निकटहरुले बताएका छन्। त्यसकै लागि खरेललाई हटाउन कार्यदलमाथि कार्यदल थप्ने, निगमको इन्जीन मर्मतका लागि भएको टेण्डर संसदीय समितिबाट फुकुवा गराउन पहल नगरी असहयोग गर्दै आएको आरोप छ। 

निगम भित्र भने खरेलका हातखुट्टा बाँधेर निगम सुधार गरेन भन्दै उनलाई हटाउने र गोचालीका सापकोटा ल्याउने खेल भएको चर्चा हुन थालेको छ। ममन्त्रालयमा पनि यो चर्चा तेज हुन थालेको छ।

ठमेलको भगवान बहालमा रहेको गोचाली ट्राभल्समा नेकपाका अर्का नेता घनश्याम भूसालको समेत लगानी रहेको छ। नेपालका लागि चीनका राजदूत लीलामणि पौडेलले घनश्याम भूसाल र योगेश भट्टराईको जोडबलमा चिनियाँहरुको कनेक्सन गोचालीमा मिलाइदिएकाले उक्त ट्राभल्सको ब्यापार पछिल्ला दिनमा चम्किएको छ। उनै सापकोटाहरुको योजनामा चलेर ट्रेकिङ एजेन्टस एशोसिएसनको अध्यक्षमा कुमार थापा (अन्जन) लाई उम्मेदवार बनाइए पनि त्यहाँ नेकपा निकट व्यवसायीहरुको हार भएको थियो। अब निगममा ल्याएर निगम पनि धरासायी पार्ने खेल भइरहेको नेकपाकै एकथरि नेता कार्यकर्ता बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ