arrow
ADVERTISEMENT

अजरबैजानमा नाम सम्मेलन सुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
non-alliance-country-meeting.jpg

बाकु। असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन शुक्रबार अजरबैजानमा सुरु भएको छ। अजरबैजानको राजधानी बाकुमा रहेको बाकु सम्मेलन केन्द्रमा औपचारिक उद्घाटन भएको हो। 

सम्मेलनमा असंलग्न राष्ट्रहरुको चुनौती र अवलम्बन गर्नुपर्ने रणनीतिहरूका बारेमा छलफल सुरु भएको सम्मेलनमा सहभागीले जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा भेनेजुएला, इरान, पाकिस्तान, क्युवा, अफ्गानिस्तान, अफ्रिकी मुलुकहरु लगायत झण्डै ६० देशका प्रतिनिधिहरु सहभागी भएका छन्। 

सम्मेलनमा कतिपय अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु पनि संलग्न रहेको समाचारमा जनाइएको छ। विश्वका १२० देश सदस्य रहेको नामले विश्वको ५५ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने मानिएको छ। नामका लागि १७ देश र १० अन्तर्राष्ट्रिय संस्थाहरु पर्यवेक्षकका रूपमा रहेका छन्।

सन् २०११ मा नामको पूर्ण सदस्य भएको अजरबैजानले सन् २०१९ देखि २०२२ सम्म अध्यक्षता गर्न लागेको छ। यसअघि नामको अध्यक्षता भेनेजुएलाले सन् २०१६ देखि गरेको थियो। नाम सम्मेलन हरेक तीन बर्षमा हुने गर्दछ।

यसलाई असंलग्न राष्ट्रहरुको विदेश नीति, राजनीति, सुरक्षा, विकासलगायतका विषयमा छलफल गर्ने मञ्चका रुपमा लिने गरिएको छ। सम्मेलनमा सहभागी हुन भेला भएका विश्वभरका नेताहरूले एक आपसमा सहकार्य र सम्बन्ध सुधार तथा बिस्तारका लागि पनि छलफल गर्ने गरेका छन्।

सम्मेलनबाट १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ। १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा तयार भइसकेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न सदस्य राष्ट्रहरूबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने विषय घोषणापत्रमा रहेको बताइएको छ।

शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि शनिबार जारी हुँदै सम्मेलनको समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ