arrow

जर्मन चान्सलर मर्केल नोभेम्बर १ मा भारत आउने

logo
एएन्आई,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
german-chancellor-angela_-merkel.jpg

नयाँ दिल्ली। जर्मन चान्सलर एन्जेला मर्केल भारत र जर्मनीबीचको पाँचौँ दुई बर्षीय अन्तर–सरकारी परामर्श (आईजीसी) का लागि नोभेम्बर १ मा नयाँ दिल्ली आउने भएकीछिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली आउन लागेकी मर्केललाई भारत भ्रमणका समय प्रधानमन्त्री मोदी, संघीय सरकारका मन्त्रीहरू तथा सचिवहरूलगायतका उच्च अधिकारीले साथ दिने कार्यक्रम तय भएको भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, “आईजीसी ढाँचाअन्तरगत हुने भेटमा दुई देशका अधिकारीहरूले आ–आफ्ना क्षेत्रका बिषयहरू र जिम्मेवारीमा प्रारम्भिक छलफल गर्ने छन्। छलफलका नतिजाहरूलाई भारतीय प्रधानमन्त्री तथा जर्मन चान्सलर एन्जेला मर्केलको संयुक्त अध्यक्षता रहेको आइजीसीमा प्रस्तुत गरिनेछ।” 

आईजीसीमा दुई पक्षबीचको यातायात, सीप विकास र उर्जालगायतका क्षेत्रमा रहँदै आएको परम्परागत सहकार्यलाई थप सुमधुर बनाउने तथा सम्भावित नयाँ अवसरको खोजी हुने बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदी तथा चान्सलर मर्केलले क्षेत्रीय तथा विश्व समुदायका आपसी चासोका बिषयमा विचारहरू आदानप्रदान हुने कार्यक्रम रहेको बताइएको छ। उनीहरूले दुवै देशका व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गर्नेछन्।

जर्मन चान्सलर मर्केलले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ