arrow

नहर मर्मतबाट बाह्र हजार घरधुरी लाभान्वित हुने

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
nahar.jpg.jpeg
कञ्चनपुर । जिल्लाको बेल्डाँडीमा भत्किएको नहर मर्मत र पुनःनिर्माणपछि यहाँका करिब १२ हजार बढी घरधुरी लाभान्वित हुने भएका छन् ।  करिब छ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउन वर्षौँअघि सिँचाइ विभागको लगानीमा नहर निर्माण गरिएको थियो । महाकाली सिँचाइ जल उपभोक्ता सङ्घ द्वितीय चरणअन्तर्गत पुनःनिर्माणको काम सुरु भएसँगै बेल्डाँडी र बेलौरी नगरपालिका उपभोक्ता लाभान्वित हुने भएका छन् ।
 
सिँचाइ मन्त्रालयको रु २८ करोड ३० लाख लगानीमा पुनःनिर्माण तथा मर्मत कार्य सुरु गरिएको हो । सो कार्य तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ । विसं २०६५ मा आएको बाढीले नहर भत्काएको थियो । सो नहर अहिलेसम्म मर्मत हुन नसक्दा बेल्डाँडी नगरपालिकाका १०० बढी परिवार डुबानमा पर्दैआएका थिए । 
 
“नहर भत्केपछि स्थानीय कृषकको आर्थिक अवस्था कमजोर बन्दै गएको थियो” महाकाली सिँचाइ जल उपभोक्ता सङ्घ बेल्डाँडीका अध्यक्ष भीमबहादुर थापाले भने। नहरको भौतिक संरचना र पुनःनिर्माणको कामले बस्ती डुबानबाट जोगिने महाकाली सिँचाइ जल उपभोक्ता सङ्घका केन्द्रीय अध्यक्ष चक्र महता बताए । नहर भत्किएपछि भएको डुबानले बेल्डाँडीमा मात्र १०० बिगाहा बढी जमिन तालमा परिणत भएको थियो । 
 
महाकाली सिँचाइको द्वितीय चरणको अधुरा संरचना निर्माण गर्न डिभिजन कार्यालय तथा उपभोक्ता समितिमार्फत टर्सरी निर्माण समेत सुरु गरिएको छ । विभिन्न ठाउँमा नहरका कारण भएको डुबान तत्काल रोक्नका लागि ड्रेन सफाइ भइरहेको केन्द्रीय अध्यक्ष महताले जानकारी दिए । विगत वर्षमा बजेट न्यून भएका कारण मुख्य नहर तथा शाखा टर्सरी निर्माण गर्न सकिएका थिएनन् । द्वितीय तरणका लागि चार वटा ब्लक समितिमा निर्माण कार्य एकसाथ सुरु गरिएको छ । 
 
सिँचाइ विभागको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यक्रमअन्तर्गत बजेट उपलब्ध भएपछि मुख्य नहर तथा शाखा नहरको मर्मतसम्भार भइरहेको छ । यस अघि २०६७ सालमा पहिलो चरणका लागि बजेट प्राप्त भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ