arrow

व्यावसायिक सुधारको दिशामा एसिया 

logo
हाम्राकुरा डेष्क,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
doing-business-world-bank-2020-asia.jpg

काठमाडौं। आर्थिक क्षेत्रको हिसाबमा एसियालाई निकै ठूलो सम्भावना भएको भूभागको रुपमा हेरिँदै आएको छ। पछिल्लो समय एसियाका मुलुकहरुको आर्थिक विकासको गतिले पनि त्यो कुरालाई सही साबित गर्दै आएको छ। यो सम्भावनालाई यथार्थमा बदल्नका लागि व्यावसायिक क्षेत्रको सुधार प्रमुख हतियार हो। यस्तोमा व्यावसायिक क्षेत्रको सुधार गर्नु निकै महत्वपूर्ण हुन्छ। 

हालसालै विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले भने एसियाको व्यावसायिक वातावरणमा सुधार आएको देखाएको छ। एसियाका धेरै मुलुक यस वर्षको व्यावसायिक वातावरणमा सुधार गर्ने मुलुकमा परेका छन्। विश्व बैंकको ‘डुइङ बिजनेस २०२०’ प्रतिवेदनमा यस वर्ष सबैभन्दा धेरै व्यावसायिक क्षेत्रमा सुधार गर्ने मुलुकमा एसियाका धेरै मुलुक परेका हुन्।

एसियाका ठूला अर्थतन्त्रहरु चीन र भारतले सूचीमा उल्लेख्य सुधार गरेका छन्। प्रतिवेदनअनुसार चीन १५ औं स्थान उक्लिँदै ‘डुइङ बिजनेस’ को ३१ औं स्थानमा पुगेको छ भने भारत १४ स्थान उक्लिँदै ६३ औं स्थानमा आइपुगेको छ।  

प्रतिवेदन अनुसार व्यावसायिक वातावरणमा सबैभन्दा बढी सुधार ल्याउने मुलुकहरूमा बंगलादेश, साउदी अरेबिया र नाइजेरियाजस्ता मुलुक परेका छन्। सबैभन्दा बढी सुधार गर्ने मुलुकमा जोर्डन, कुबेत, कतारलगायतका मुलुक पनि अटाएका छन्। पछिल्लो समय व्यापारयुद्ध तथा अन्य व्यापारिक तनावको कारण विश्व अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा एसियाली मुलुकको यस किसिमको सुधारले आगामी दिनमा एसियाको आर्थिक क्षेत्रमा थप सुधार हुनसक्ने विश्लेषकहरुले बताएका छन्।

यसपटकको सूचीमा चीनले गत वर्षको तुलनामा जर्मनी, स्विट्जरल्याण्डलाई पनि पछि पारेको छ। यसले पनि चीन आगामी दिनमा व्यावसायिक क्षेत्रको लागि महत्वपूर्ण क्षेत्रको रुपमा देखिनसक्छ। तर, अझै पनि चीन व्यावसायिक वातावरणको हिसाबमा ३१ औं स्थानमा छ। अझै यो मुलुक शीर्ष २० मा पर्न सकेको छैन। भारत पनि ६३ औं स्थानमा छ। यो स्थानमा उभिनु खासै महत्वपूर्ण नभए पनि व्यावसायिक वातावरणमा देखिएको सुधार आकर्षक देखिन्छ।

गत वर्षजस्तै यस वर्ष पनि न्यूजिल्यान्ड सूचीको पहिलो स्थानमा देखिएको छ। सूचीको सबैभन्दा पुछारमा सोमालिया छ। अमेरिका र बेलायत सूचीको उत्कृष्ट १० भित्र अटाएका छन्। हङकङ सूचीको तेस्रो स्थानमा छ। तर, पछिल्लो समय हङकङमा देखिएको आन्दोलनले उसको व्यावसायिक अवस्था केही कमजोर बन्न पुगेको विश्लेषकहरूले बताएका छन्।

प्रतिवेदनअनुसार ल्याटिन अमेरिकाको व्यावसायिक वातावरणको अवस्था कमजोर देखिएको छ। यो क्षेत्रको ब्राजिल सूचीको १२४औं स्थानमा झरेको छ भने अर्जे्न्टिना १२६औं स्थानमा छ। यो क्षेत्रकै सबैभन्दा अगाडि रहेको चिली पनि सूचीको ५९ औं स्थानमा छ।

नेपालमा पनि पछिल्लो समय व्यावसायिक वातावरणमा उल्लेख्य सुधार आएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार नेपाल यो सूचीमा १६ स्थान माथि उक्लिएको हो। गतवर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा पर्न सफल भएको हो। 

विश्व बैंकले विभिन्न १० पक्षको सूक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। सूचकांकमध्ये नेपालको ५ ओटामा सुधार आएको छ। यद्यपि सर्वाधिक सुधार गर्ने २० मुलुकमा पर्न भने नेपाल परेको छैन।

दक्षिण एशियाली मुलुकहरूमध्ये वरीयतामा नेपालभन्दा माथि भारत ६३ औं र भुटान ८९ औं स्थानमा छन्। दक्षिण एशियाका अन्य मुलुकहरू श्रीलंका ९९ औं स्थानमा, पाकिस्तान १०८ औं स्थानमा, माल्दिभ्स १४७ औं स्थानमा, बंगलादेश १६८ औं स्थानमा र अफगानिस्तान १७३ औं स्थानमा छ। एसियाको व्यावसायिक वातावरणमा उल्लेख्य सुधार भइरहेको अवस्थामा ल्याटिन अमेरिका पछि पर्नु र यूरोपका मुलुकले पनि खासै सुधार गर्न नसक्नुले आगामी दिनमा व्यावसायिक लगानी एसियाली मुलुकमा भित्रिन सक्छ।

व्यावसायिक क्षेत्रमा उल्लेख्य लगानी भित्र्याउन सकेको खण्डमा एसियाको आर्थिक वृद्धिदर पनि उल्लेख्य रहनेमा कुनै दुईमत नहोला। केही एसियाली मुलुकले अघि सारेको महत्वाकांक्षी योजनाको कारण पनि उनीहरु आफ्नो मुलुकको व्यावसायिक वातावरणमा सुधारको लागि बाध्य भएका हुन्।

भारत सन् २०२४ सम्म ५० खर्ब डलरको योजना अघि सारेको छ। यो अवस्थामा मुलुकमा लगानी भित्र्याउनु उसको लागि अपरिहार्य देखिएको छ। त्यसका लागि उसले मुलुकको व्यावसायिक क्षेत्रमा सुधारको विभिन्न योजना पनि अघि सारेको छ। त्यस्तै चीन पनि मेड इन चाइना २०२५ योजनाको लागि अघि बढिरहेको छ। साउदी अरेबियाले पनि आफ्नो भिजन २०३० अघि सारिसकेको छ।

यसरी भएका व्यावसायिक वातावरणको सुधारले आगामी दिनमा एसियाले यूरोप तथा अमेरिकालाई लगानीको क्षेत्रमा पछि पार्न सक्छ। एसियाका साथै अफ्रिकाका पनि केही मुलुकमा व्यावसायिक वातावरणमा सुधार आएको देखिएको छ। अब यो सूचकांकको प्रभाव लगानी तथा आर्थिक वृद्धिदरमा कस्तो किसिमको पर्ने हो भन्ने कुरा भने हेर्न बाँकी छ।

तर, व्यावसायिक वातावरणमा सुधार आउँदै लगानी बढाउन सक्ने हो भने यो क्षेत्रमा अनुमान गरिएभन्दा धेरै सुधार हुने स्पष्ट छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ