arrow

ट्राफिक चेकिङ् बदलियो : अब यातायात व्यवसायी र पत्रकार पनि ट्राफिक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत २५ बिहिबार
trafik-new-photo.JPG.jpeg
स्याङ्जा । स्याङ्जामा ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनको चेकजाँच गर्ने क्रमलाई बद्लेको छ । यातायात व्यवसायी, पत्रकार र ट्राफिक प्रहरीले संयुक्त रुपमा सवारी साधन अनुगमन गर्ने व्यवस्था अगाडी सारेको छ । जिल्लाका विभिन्न ठाँउमा ट्राफिक प्रहरीले संयुक्तरुपमा सवारी साधनको अनुगमन गर्ने क्रम जारी राखेको छ । बेला–बेलामा ट्राफिक प्रहरीले दुःख दिएको खबर बाहिर आउन थालेपछि ट्राफिक प्रहरीले यस्तो अभियानको थालनी गरेको हो । सिद्धार्थ राजमार्गबाट पहिलो पटक शुरु भएको यो अभियान ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने ट्राफिक प्रहरीले जनाएको छ । 
 
सडकमा गुड्ने हरेक सवारी साधनले नियमको पालना गरेको छ या छैन भन्ने विषयमा संयुक्त रुपमा चालिएको यो अभियान अत्यन्तै फलदायी रहेको यातायात व्यावसायीको भनाई छ । स्याङ्जामा ट्राफिक प्रहरीले ल्याएको यो अभियानले प्रहरी, यात्रु र व्यावसायीबीच अत्यन्तै राम्रो सम्बन्ध राख्ने यातायात व्यावसायी धिरज गुरुङ बताउछन् । यस्तो अभियान विगतमा पनि नभएको र समितिबाट चल्ने सवारी साधनलाई समितिकै पदाधिकारीको रोहवरमा सोधपुछ हुनु अत्यन्तै राम्रो भएकोले यसको निरन्तरताको आवश्यकता रहेको गुरुङ्को भनाई छ ।  
 
प्रहरीले यातायात व्यवसायीकै रोहवरमा भाडादर, आरक्षण सिट, सिट क्षमता भन्दा बढी यात्रु, चालक अनुमतिपत्र लगायतका विषयमा चेकजाच गरिएको थियो । यो अभियानले सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरु पनि खुसी भएका छन् । यसलाई निरन्तरता दिन सके सबैको यात्रा सुरक्षित हुने यात्रुहरु बताए ।  संयुक्त रुपमा गरिएको अनुगमनले सवारी चालक पनि खुसी देखिएका छन् । ट्राफिक प्रहरीले दुःख नदिएको तर लामो दुरीका सवारी साधनहरुले भने यात्रु झार्न समस्या हुने गरेको चालकहरुको दुःखेसो थियो । 
 
ट्राफिक प्रहरीको पहलमा संयुक्तरुपमा गरेको अनुगमनमा आरक्षण सिटको खासै सदुपयोग नगरेको, हरेक सवारी साधनले सरकारले तोकेको मापदण्ड अनुरुप भाडादर टास्नु पर्नेमा केही सवारी साधनले नगरेको पाइएको थियो । मापदण्ड विपरीत चलेका सवारी साधनलाई ट्राफिकले सम्झाउने तथा जरिवाना समेत गरेको छ । केही सवारी साधनले तोकेको भन्दा बढी भाडा लिने गरेकोलाई पनि भाडा फिर्ता समेत गरेको छ । सरोकारवाला सबै सगँ प्रत्यक्षरुपमा अनुगमन गरेपछि ट्राफिक प्रहरीले गल्ती गरेको छ वा छैन भन्ने जानकारी हुने भएकाले यो अभियान थालनी गरेको ट्राफिक प्रहरी राजकुमार महत बताउँछन् । समितिकै अगाडी ट्राफिक प्रहरीले चालकहरुले गरेको गल्ती सुनाइदिएपछि भोलीका दिनमा गल्ती नदोहोरीने ट्राफिक प्रहरीको विश्वास छ । 
 
संयुक्त रुपमा गरिएको अनुगमनमा लामो तथा छोटा दुरीका बस, माइक्रो, ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका थिए । ट्राफिक प्रहरीले थालेको यो अभियानले मनपरी भाडा लिने सवारी साधनको निरुत्सायी हुने र आरक्षण सिटको सदुपयोग हुने भएकाले यो अभियानलाई ट्राफिक प्रहरीले निरन्तरता दिनुपर्ने देखिन्छ । जसका कारण यात्रुहरु मर्कामा पर्न यो अभियानले टेवा पुग्ने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ