काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायमै रहेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज साँझसम्म गणना भएको छ हजार ७८१ मतमा केसीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले तीन हजार ९० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवमा खम्मबहादुर खातीले तीन हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी दीनमणि पोखरेलले दुई हजार ९७० मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले तीन हजार ४५ मत र उहाँका प्रतिस्पर्धी हरिबहादुर खड्काले दुई हजार ९०२ मत प्राप्त गर्नुभएको छ ।
आजका लागि मतगणना स्थगित भएको छ । शुक्रबारका लागि एक हजार ७० मात्र गणना गर्न बाँकी छ ।
हालसम्म २७ निर्वाचन केन्द्रको मतगणना गरिसकेको निरौलाले जानकारी दिनुभयो । बारको नयाँ कार्यसमितिका लागि मङ्गलबार बिहानदेखि सुरु भएको मतगणना हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरौलाले शुक्रबारसम्म पूर्ण परिणाम आउनेसमेत जानकारी दिनुभयो । रासस