भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेस सरकार परिवर्तनको खेलमा नलाग्ने बताउनुभएको छ ।
भक्तपुरको कटुञ्जेमा नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका–२ ले आज आयोजना गरेको नवनिर्वाचित सभापतिको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उहाँले ठूलो दलको नाताले काँग्रेसले अब संविधान कार्यान्वयनको नेतृत्व लिने बताउनुभयो ।
नेता थापाले भन्नुभयो, “नेपाली काँग्रेसले संविधान जारी गरेजस्तै अब ठूलो दलको नाताले संविधान कार्यान्वयनको नेतृत्व लिनेछ, काँग्रेस सरकार परिवर्तनको खेलमा लाग्दैन ।”
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र सांसद रामहरि खतिवडाले कालो बजारी नियन्त्रणमा सरकार असफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरबाट निर्वाचिन एक जिल्ला सभापति, दुई क्षेत्रीय सभापति, छ नगरसभापति र ९२ वडा सभापति गरी १०१ सभापतिलाई सम्मान गरिएको थियो । रासस