पत्रकारमाथिको आक्रमण १८ प्रतिशतले बढ्यो : यूनेस्को
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
424
Shares
पेरिस। संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (यूनेस्को) ले सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गरी हिंसा बढेको भन्दै नियन्त्रणका लागि चासो व्यक्त गरेको छ। शनिबार परेको पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा यूनेस्कोले ‘बढ्दो आक्रमण, नयाँ सुरक्षा’ नाम दिइएको पछिल्लो तथ्याङ्क सावैजनिक गर्दै पछिल्लो पाँच बर्ष (सन् २०१४–२०१९) मा सन् २००९–२०१३ को तुलनामा पत्रकारमाथिको आक्रमण १८ प्रतिशतले बढेको उल्लेख गरेको छ।
पत्रकार हत्याका घटनामा आएको परिवर्तनको यो प्रवृति हेर्दा पछिल्ला दिनहरूमा पत्रकारहरूले राजनीतिक समाचार, आपराधिक घटना र भ्रष्टाचारविरोधी समाचार लेखेका कारण मृत्युको सामना गर्नुपरेको उल्लेख छ। विश्वभर सन् २००६ देखि २०१८ सम्म पत्रकारलाई मारिएका झण्डै ९० प्रतिशत मुद्दाहरू अनिर्णित रहेका यूनेस्कोको रिपोर्टमा उल्लेख छ।
यूनेस्कोका महानिर्देशक आयुद्रेय अजोलायले भने, “पत्रकारहरूले आफ्नो जीवन खतरामा राखे, मारिए, र पत्रकारविरोधी हिंसा रोक्न केही नगरिएका घटनाजस्ता तथ्याङ्कलाई रेकर्डमा ल्याएको यूनेस्कोले बताएको छ। पत्रकारको हत्याले सत्यको खोजीलाई कहिल्यै अन्त्य गर्नसक्दैन।”
संयुक्त राष्ट्रसंघको सन् २०१३ मा सम्पन्न महासभाले नोभेम्बर २ लाई पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसकारूपमा मनाउने घोषणा गरेको थियो।
सन् २०१३ नोभेम्बरमा मालीमा हत्या गरिएका फ्रान्सेली पत्रकारको सम्झना र विश्वका पत्रकारहरूको हितका लागि नोभेम्बर २ लाई पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसकारूपमा मनाउन थालिएको हो।