जनकपुरधाम । जिल्ला अदालत धनुषाले एमाले बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो आदेश दिएको हो । यादवसँगै दुर्गा साहलाई समेत पूर्पक्षका लागि थुनामा राख्ने आदेश छ ।
एक वर्षअघि पूर्वी धनुषाको सबैला गाउँस्थित मदनआश्रित निमावि व्यवस्थापन समिति चयनका लागि भएको विवादमा दुई जनाको मृत्यु भएको र केही घाइते भएको घटनाका मुख्य योजनाकार मानिएका यादवमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सो फैसला भएको हो । गत सोमबारदेखि सुरु भएको थुनछेक वहसपछि शुक्रबार सो आदेश आएको हो ।
यादवविरुद्ध जिल्ला अदालतमा रहेका तीनवटा छुट्टा–छुट्टै मुद्दा मध्ये हातहतियार तथा खरखजना मुद्दाको बहस भने जारी छ । सो घटनामा सबैलाका रामप्रकाश यादवको गोली प्रहारबाट मृत्यु भएको र रामसेवक गोडरी कुटपिटबाट घाइते भएका थिए । फैसलापछि दुवै जनालाई सिरहा जिल्ला कारागार पठाएको जनाइएको छ ।