arrow

नेपाल अवकाश हुने ६ महिनाअघि नै राष्ट्रबैंक गभर्नरको चलखेल

संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने अर्थसचिव खनाल पनि गभर्नरका आकांक्षी 

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
rajan-khanal-maha-prasad-adhikari.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल अवकाश हुनु ६ महिना बाँकी छ। आगामी चैतमा डा. नेपाल अवकाश हुँदैछन् । तर ६ महिनाअघि नै गभर्नर हुने आकांक्षीहरु मिडियाबाजीमा उत्रिएका छन् ।

महेन्द्र संस्कृत विश्वविद्यालयबाट पीएचडी उपाधि लिएका अर्थमन्त्रालयका सचिव राजन खनालले पनि गभर्नरको लागि तीव्र चाहना राखेका छन् । अर्थमन्त्री युवराज खतिवडाले खनाललाई गभर्नर बनाउन चाहेका समाचारहरु उनकै डिजाइनमा आउन थालेका छन् ।

कर र अर्थशास्त्रको पढाइ नै नहुने महेन्द्र संस्कृत विश्वविद्यालयबाट उनले नेपालको कर नीतिका बिषयमा विद्याबारिधी गरेका छन् । उनी २०७६ माघ २२ मा अवकाश हुँदैछन् । उनी राष्ट्रबैंकको गभर्नरका लागि नेकपाका नेताहरुसँग लबिङ गरिरहेका छन् ।

अर्थमन्त्रालयको सचिवका रुपमा समायोजन भएका कर्मचारीको पदस्थापन पनि गर्न नसकेको आरोप लागेका खनालले गभर्नर कसरी हाँक्न सक्लान् भन्नेहरु पनि छन् । खनालले २०७६ असोज १५ सम्म समायोजन भएका कर्मचारीको पदस्थापन गरिसक्नुपर्नेमा गर्न सकेनन् ।

सचिव खनालले नसकेपछि राजस्व सचिवका रुपमा भर्खरै सरुवा भएका शिशिरकुमार ढुंगानाले सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिएर उपनिर्वाचनपछि लागू हुनेगरी राजस्व समूहका ६० उपसचिवसहित करिब १२ सय कर्मचारीको पदस्थापन गरेका छन् । 

राष्ट्र बैंकको भावी गभर्नरमा लगानीबोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारी पनि छन् । उनी राष्ट्रबैंकको डेपुटी गभर्नरबाट अवकाशपछि लगानीबोर्डको कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । उनको चार बर्षे कार्यकाल २०७७ असारमा पूरा हुँदैछ । तर लगानीबोर्डमा काम गर्ने वातावरण नभएकाले उनी राष्ट्रबैंकको गभर्नर हुन खोजिरहेका छन् ।

ठूला परियोजनाका लागि लगानीबोर्डमा दर्ता गर्ने ब्यवस्था गरिए पनि सरोकारवाला मन्त्रालयहरुले सहयोग नगरेका कारण सोचेजस्तो लगानीकर्ता आकर्षित गर्न नसकेको महसुस उनले गरेका छन्। राजनीतिक खिचातानीका कारण पनि लगानीबोर्डले अपेक्षित काम गर्न सकेको छैन । 

त्यसैगरी डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले गभर्नर नियुक्तिको लागि लबिङ गरेका थिए । श्रेष्ठ निलम्बनमा परिसकेका छन्। प्रधानमन्त्री ओलीसँग निकट रहेका मानिएका शिवाकोटीको सम्भावना कायमै रहेको बताइन्छ।

राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशकहरु भाष्करमणि ज्ञवाली, बासुदेव अधिकारी, भीष्म ढुंगाना, सञ्चालक समिति सदस्य सुबोधकुमार कर्णले पनि गभर्नरको लागि लबिङ गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ