arrow

कोरला–जोमसोम सडकखण्ड मर्मत

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
koralaroad.jpg.jpeg
मुस्ताङ । उत्तरी छिमेकी चीन जोड्ने कोरला नाका पुग्ने कोरला–जोमसोम सडकखण्डअन्तर्गत समर–भियना सडकको मर्मत गरिएको छ । उपल्लो मुस्ताङवासीको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले ६०० मि लामो उक्त सडकखण्डको मर्मत गरेका हुन् । सडक मर्मतका लागि उपल्लो मुस्ताङको लोमान्थाङ, घमी र चराङ गाविसका सर्वसाधारणले एक हप्तासम्म सुरक्षाकर्मीसँगै श्रमदान गरेका थिए । 
 
सडक मर्मतका लागि जिविसले रु १२ लाख बजेट विनियोजन गरेको थियो । समर–भियना सडकखण्ड भिरालो र साँघुरो भएका कारण सवारी आवतजावतमा एकदमै समस्या थियो । साँघुरो सडकलाई फराकिलो बनाइएपछि उपल्लो मुस्ताङमा नियमित सवारी सञ्चालन गर्न सहज भएको मुस्ताङका स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार, स्थानीयवासी र सुरक्षाकर्मीको श्रमदानका कारण न्यून बजेटमा पनि उल्लेख्य काम भएको छ । ९३ किमी जोमसोम–कोरला नाका सडकखण्डमध्ये समर–भियनालाई सबैभन्दा अप्ठ्यारो क्षेत्र मानिन्छ । 
 
कोरलानाका पुग्न सकिने र उपल्लो क्षेत्रका बस्तीलाई सडक सञ्जालमा जोड्न यही मार्गलाई प्रवेशद्वारको रुपमा लिने गरिन्छ । सडकको दुवैतर्फको भाग फराकिलो र तह मिलाइएको प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिए । “एकैहप्तामा हामीले डोजरको प्रयोग गरेर यो काम सम्पन्न गर्‍यौँ, स्थानीयवासीले पनि दैनिक रुपमा श्रमदान गरे ”, बस्नेतले भने । सडक मर्मतसँगै सहजै कोरला नाका पुग्न सकिने सेनानी बस्नेतको भनाइ छ । रासस 



नयाँ