arrow

उत्तर कोरियाली हठले बढाएको चिन्ता

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
north-korea.jpg.jpeg
काठमाडौँ। विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन् । यो हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरुको छ । दई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा भएको आणविक विषयको सम्मेलनमा यस्तै प्रतिक्रिया विश्वका नेताहरुले व्यक्त गरे । 
 
त्यस सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताको सहभागिता थियो । उनीहरुको चिन्ता पनि उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणमा केन्द्रित थियो । उनीहरुले उत्तर कोरियाको यस कार्यलाई हठको संज्ञा दिएका छन् । विश्वले नै बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नुलाई हठबाहेक अरु केही भन्न नसकिने उनीहरुको भनाइ छ । तर उत्तर कोरिया भने उनीहरुका विरुद्ध खनिन छोडेको छैन । उसले गतहप्ता एक उत्तेजक भिडियो बनायो वासिङ्टनमा बम हानेको । त्यस्तै दुई दिनअघि पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयमा हानेको अर्को त्यस्तै प्रचारक भिडियो बनाएको थियो । जसलाई संसारले नै निन्दा पनि गरेको छ । 
 
शुक्रबार उत्तर कोरियाका एकजना उच्च अधिकारीले निकै नै आपत्तिजनक शब्दमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाईलाई गालीगलौज गरे । जुन शब्द यति आपत्तिजनक छ कि त्यसले हाईको मानहानी गरेको स्पष्ट देखिन्छ । तर यसप्रति दक्षिणले भने त्यस्तो कुनै आक्रामक प्रतिक्रिया दिने गरेको छैन । 
 
विश्वका प्रायः देशसँग राम्रो सम्बन्ध नभएको देश उत्तर कोरियाले पछिल्लो समयमा किन यस्तो उत्तेजक कार्य र प्रचार गर्ने गरेको हो भन्ने उत्सुकताको विषय हो । बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया गएको केही समययता त निरन्तर रुपमा नै आणविक परीक्षण गरेको छ । 
 
आणविक परीक्षणको कारण नै उत्तर कोरियालाई पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी लगाएका छन् । तर उसले भने सो नाकाबन्दीको विरोधगर्दै पुनः परीक्षणको तयारीसमेत गरेको छ । बारम्बाारको यस परीक्षणले भाषा, संस्कृति र रगतको नातासमेत रहेको दुई कोरियाबीचको सम्बन्ध पनि झनै बिग्रिदो अवस्थामा रहेको छ । उत्तर कोरियाको कुनैपनि परीक्षणका विरुद्धमा आफुहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले दाबी गर्ने गरेको छ । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि निरन्तर रुपमा व्यालेस्टिक क्षेप्यास्त्रसमेत परीक्षण गरेको थियो । 
 
सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि देशसँगै आफन्तहरु पनि छुट्टिएका छन् । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुने गरेको पाइन्छ । बाबु छोरा, दिदीबहिनी, भाईभाईको नाता रहेको यी दुईदेशलाई आणविक परीक्षणले आपसमा झन् शत्रुता थपिरहेको छ । यसले आपसमा झन् बेमेलको स्थिति पैदा गर्ने गरेको छ । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेका छन् । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । गत फेब्रुअरी ६ बाट उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरियाविरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसङ्घलाई सघाएका हुन । 
 
उत्तर कोरियाको बेलाबेलाको धम्कीले अर्थात पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्न सक्ने सङ्केतले गर्दा दक्षिण काोरियालाई एक टाउको दुखाइको विषय बन्दै गएको छ । उत्तर कोरियाले आणविक परीक्षणको सङ्केत दिनेबित्तिकै दक्षिण कोरियाले सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुपर्ने हुन्छ । हालै उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणपछि दक्षिणी कोरियाली राष्ट्रपति पार्क गेउन हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापलाई बढाउन आग्रह गरेकि छन् । 
 
उत्तर कोरियाको निहुँ खोज्ने तरीका यही परीक्षणमा नै झल्केको देखिन्छ । त्यस्तै बेलाबेलामा छिमेकी एवम् अमेरिकालाई तर्साउने, दक्षिण कोरियाका आधिकारिक फोनहरु ह्याक गर्ने गर्दछ । केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको भिडियो सार्वजनिक गरेको थियो भने सरकारी वेभसाइटमा यो भिडियो गत मङ्गलबार मात्र राखिएको थियो । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटकपटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रकेट हमला गरेर ध्वस्त बनाएको देखाइएको छ । यसअघि पनि उत्तर कोरियाले वासिङ्टनमा यसैगरी रकेट हानेको भिडियो सो वेभसाइटमा राखेको थियो । उत्तरले पछिल्लो समयमा गरेका यी क्रियाकलापहरुलाई उत्तेजनात्मक भनी विश्वव्यापी रुपमा विरोध भइरहेको छ । 
 
इतिहासको पाना पल्टाउँदा दक्षिण र उत्तर कोरिया विभाजनपश्चात् सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्मको तीन वर्ष एक महिनाभन्दा बढी समयसम्म चलेको युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाएका थिए । नागरिकका भाषा, भेशभूषा, धर्म, संस्कृति, संस्कार, इत्यादि मिल्दोजुल्दो भए पनि त्यस बखतदेखि नै दुई राष्ट्रका राजनेताबीच परम शत्रुता चल्दै आएको र युद्धको लगभग पाँच दशकपश्चात् दुई राष्ट्रबीच सम्बन्धमा केही सुधार आएको भए पनि पुनः आणविक परीक्षण सुरु गरेर सम्बन्धमा दरार आएको देखिएको छ । 
 
उत्तर कोरियाको वैदेशिक सम्बन्ध पनि कम्युनिष्ट राष्ट्रसँग मात्र राम्रो रहेको पाइएको छ । सन् १९६० देखि १९७० सम्म उत्तर कोरियाले स्वतन्त्र विदेश नीति अवलम्बन गरेको थियो । सन् २०१२ सम्ममा उत्तर कोरियाको १६२ राष्ट्रसँग कूटनीतिक सम्बन्ध रहेको र त्यसमा युरोपियन युनियनसँग समेत रहेको थियो । त्यसैगरी ४२ वटा राष्ट्रसँग उत्तर कोरियाली राजदूतावास रहेको छ । उत्तर कोरियाको बलियो द्विपक्षीय सम्बन्ध साम्यवादी राष्ट्र भियतनाम, लाओस र कम्बोडियासँग रहेको पाइन्छ । 
 
एकातिर उत्तर कोरियाले आफ्नो शक्ति आणविक परीक्षणबाट देखाउँदै जाने र अर्कातर्फ विश्वका नेताले यसलाई राष्ट्रसङ्घीय शान्ति र निशस्त्रीकरणको मूल्यमान्यता विपरीत भएको भन्दै एक्लाउने जाने क्रियाकलाप जारी नै छन् । यसरी यो शृङ्खला कतिसम्म जारी रहने हो वा यसले विश्वलाई अर्को विश्वयुद्धका लागि धकेल्ने त होइन भन्ने त्रास विश्वमा चर्चाको विषय छ । त्यसले विश्वमा आतङ्कवादसँगै अर्को चिन्ता यो पनि छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ