arrow

७९ वर्षीया बृद्धाले टिका लगाउँदै भनिन, 'यसपटक कांग्रेसले जितेको हेर्न मन छ'

टुरिष्ट उमेद्वारमा भँडेल हावी हुन सक्ने आँकलन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
bhakatapur-1-ka-congress-krishnalal.jpg

भक्तपुर। चाँगु। मंसिर १४ गते हुन लागेको भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ। यस निर्वाचनालाई प्रमुख दलहरुले आफनो प्रतिष्ठा बनाएका छन। भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन। अहिले प्रमुख दलहरु चुनावी प्रचार प्रसार अभियानमा जोडतोडका साथ लागेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल भने यसपटक आफू विजयी हुनेमा ढुक्क छन्। उनलाई कांग्रेसका सबै नेताहरुले साथ दिएका छन्। यहाँका स्थानीय कांग्रेसका नेताहरु पनि एकजुट भएर लागेका छन। भँडेल चाँगुका स्थानीय बासिन्दा हुन्। त्यसैले उनलाई टुरिस्ट उम्मेदवारको आरोप लाग्ने गरेको छैन। हाम्राकुरा प्रतिनिधि उनलाई भेट्न जाँदा उनी चाँगनारायण नगरपालिका ५ स्थित पिकेलमा घरदैलो अभियानमा व्यस्त थिए।

घरदैलो अभियानको क्रममा उनी पिकेलकी एक बृद्धाको घरमा पुगे। ७९ वर्षीया बृद्धा सावित्री थापाले उनलाई टिका लगाएर आर्शिवाद दिइन्। र ती बृद्धाले भनिन्, यसपटक कांग्रेस विजयी भएको हेर्न मन छ।’ बृद्धाको आर्शिवाद पाए पछि भडेल झनै उत्साहित भए र तपाईको आर्शिवाद पूरा होस भन्दै उनी अर्को घरमा भोट माग्न गए। 

प्राय हरेक दिन कोणसभा गर्ने र सभा पछि घरैदलो अभियानलाई व्यस्त राख्ने कांग्रेसले चुनावी रणनीति बनाएको छ। शुक्रबार हाम्राकुरा प्रतिनिधि चाँगुनारायण पुग्दा चाँगुको पिकेलमा गरिएको कोणसभामा कांग्रेसका नेता रमेश लेखकले सम्बोधन गरेका थिए। भक्तपुरको चुनावी प्रचार प्रसारको नेतृत्व भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले गर्ने गरेका छन्। थापा भन्छन, यसपटक यस क्षेत्रका कांग्रेस विजय हुन्छ। कांग्रेस प्रति जनताको जनताको माया सद्भाव अभुतपुर्व रुपमा देखिएको छ।’ 

यस उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीबाट देवीप्रसाद ढकाल (डिपी ढकाल) ले उम्मेदवारी दिएका छ्न् भने नेपाल मजुदर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ। ढकाल पूर्व माओवादी निकट हुन। भक्तपुर १ (क) मा उनले टिकट पाउँदा भक्तपुर नेकपामा व्यापक असन्तुष्ठि छ। यसपटक भक्तपुर १ (क) मा नेकपाले विरासत थाम्ने सम्भावना नदेखिएको स्थानीय जनता बताउछन्।

अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए। गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ (क) खाली थियो। स्रोत भन्छ, अहिले पनि भक्तपुर १(क) मा पूर्व एमाले र पूर्व माओवादी अलग अलग पार्टी जस्ता छन्। तर टिकट पूर्व माओवादी नेताले पाए पछि पूर्व एमालेमा ठूलो असन्तुष्टि पैदा भएको छ। 

पूर्व माओवादीबाट उम्मेदवार बनेका ढकाल काभ्रेमा जन्मेका हुन। हाल उनी काठमाडौको पेप्सीकोलामा स्थायी बसोबास गर्दै आएका छन्। भक्तपुरको कमलविनायकमा उनको घर भए पनि उनी पेप्सीकोलामा बस्ने गरेका छन्। त्यसैले ढकाललाई भक्तपुर १ (क) का अधिकांश स्थानीयबासीले चिन्दैनन। तर कांग्रेसका उम्मेदवार भडेलको हकमा भने यस्तो स्थिति छैन। उनी यहाँको स्थानीयबासी भएकोले उनलाई सबैले चिनेका छन।

भडेलले भक्तपुर १ (क) को विकास र प्रदेश राजधानी र प्रदेश नामाकरणलाई आफनो चुनावी एजेण्डा बनाएका छन्। प्रदेश ३ को नाम चाँगुनाराण राख्ने र प्रदेश ३ को राजधानी भक्तपुरमा राख्ने उनको चुनावी एजेण्डा बनेको छ। उनी भन्छन,‘प्रदेश सभामा म विजयी भए प्रदेश ३ को नाम चाँगनारायण प्रदेश र प्रदेश ३ को राजधानी भक्तपुरमा राख्न मेरो प्रयास हुने छ। यसको लागि प्रदेश सभामा टेबुल ठटाएर लड्ने छु।’

त्यसो त, भक्तपुर १ (क) मा राप्रपा (संयुक्त) बाट रामशरण लामिछानले पनि उम्मेदवार दिएका छन्। अघिल्लो पटक यस क्षेत्रमा राप्रपाको मत करिब ५ हजार परेको छ। राप्रपा (संयुक्त) का उम्मेदवारले चुनाव जित्ने सम्भावना नभए पनि यसपटक यो भोट चुनाव जित्नको लागि महत्वपूर्ण आधार मानिने यहाँका राजनैतिक विश्लेषकहरु बताउछन्। उपनिर्वाचन यस क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ