arrow

बाराको प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलमा आगलागी

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
bara-aaglagi.jpg.jpeg
बारा। बारा जिल्लामा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको जंगल क्षेत्रमा आगलागी भएको छ। जंगल क्षेत्रमा फैलिएको आगोले त्यस क्षेत्र नजिकैको गाउँहरु जोखिममा परेका छन्। 
 
स्थानिय पेमासिद्धी लामाले दिएको जानकारी अनुसार आगलागीले घनाजंगलको आसपासका वासिन्दाले त्रास व्यहोर्नु परेको छ। आगोको राप गाउँसम्म आइपुगेको छ भने हावाले आगोको खरानी र आगोका झिल्काहरु गाउँसम्म ल्याइ पुर्‍याउँदा स्थानियहरु रातभर सुत्न सकेका छैनन। स्वाश फेर्न समेत गाह्रो भएको लामाले बताए। धुवाँका कारण पूर्व पश्चिम राजमार्गमा सवारी साधन चलाउन पनि गाह्रो भएको छ। 
 
उता सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा आज दिउँसो भीषण आगलागी हुँदा करोडौँको नोक्सानी भइसकेको प्रहरीले प्रारम्भिक तथ्याङ्क दिएको छ। जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको भोक्राहा–२ मा लागेको आगो वडा नं ४ सम्म फैलिइसकेको छ। मुस्लिम समुदायको सघन बसोबास रहेको भोक्राहामा लागेको आगो नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको बताइएको छ। 
 
पश्चिमी तातो वायुसँगै सुरु भएको आगोले भोक्राहा–२ देखि वडा नं ४ सम्म फैलिँदा दुईवटा पक्की घरसँगै कम्तीमा ४० घर जलेर नष्ट भएको छ। आगो नियन्त्रणका लागि इटहरी धरान इनरुवालगायतका क्षेत्रका चारवटा दमकलले भरमग्दुर प्रयास गरिरहेको र नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीयवासीले समेत आगो निभाउने प्रयासमा सघाउ पुर्‍याइरहेका छन् ।
 
तातो वायु र गर्मीसँगै फैलिएको आगो नियन्त्रण बाहिर रहेको र दमकल तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगो निभाउने प्रयास गरिरहेको प्रहरीले बताएको छ। तीन घण्टादेखि फैलिएको आगो नियन्त्रणमा लिनका लागि सबैतिरबाट प्रयास भइरहेको बताइएको छ।
 
त्यस्तै घुस्की–४ मा लागेको आगो पनि नियन्त्रण बाहिर रहेको प्रहरीले बताएको छ । धेरैतिर आगो लागेको र दमकल भोक्राहामा केन्द्रित भएकाले घुस्कीमा लागेको ओगो सुरक्षाकर्मी र स्थानीयवासीले निभाउने प्रयास गरिरहेका छन् । हुरी चलिरहेकाले सघन बस्ती रहेको मुस्लिम समुदायको बसोबास रहेका ती बस्तीमा अझै आगो फैलिने कार्य भइरहेको छ । 
 
उता आजै दिउँसो नरसिंक गाविस–४ मा भएको आगलागीमा परेर दुई घर नष्ट भएको छ । त्यहाँ लागेको आगो भने स्थानीयवासीले नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ । 
 
धेरैतिर एकसाथ आगलागी भएकाले सुरक्षाकर्मी र दमकललाई भ्याइनभ्याई परेकाले भोक्राहा र घुस्कीको आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ। आगलागीमा कति नोक्सानी भयो भन्ने कुरा अझै यकिन गर्न कठिन रहेको पनि प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ