arrow

भारतीय सुरक्षाकर्मीको व्यवहारले सुनसान हुँदै पशुपतिनगर

logo
रासस,
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
pashupat-inagar.jpg

ईलाम। दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो ।

गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताईन । स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहेकी उनले भारतबाट नेपाल आउने पर्यटकको पैसा चोरी भएपछि भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको बताईन् ।

दशैँ, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ । दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन् । वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताईन् ।

 दार्जिलिङबाट नेपाल आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरीद गर्ने भएकाले यहाँबाट लाखौँको कारोवार हुने गरेको थियो । क्रमशः भारतीय पर्यटकको आगमन घट्दै गएको छ । पहिले भिडभाड हुने बजार विस्तारै खुम्चिँदै जानुमा भारतीय पक्ष नै दोषी रहेकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यापारीहरुको माग छ ।

भारतीय पक्षको खानतलासीले पूर्वी पहाडबाट दार्जिलिङतिर जाने आफन्त, दैनिक बिरामी लिएर जाने गाडी तथा उपचारका लागि जाने बिरामीका परिवार पनि मारमा परेका छन् । उपचारका लागि ठूलो खर्च लाग्छ । उपचारमा जाँदा रु २५ हजारमाथि नै रकम बोक्नुपर्ने तर भारतीय पक्षका कारण समस्या हुने गरेको पीडितहरुको भनाइ छ ।

बिरामीको उपचारका लागि लगिएको पैसा नै सिमाना काटेर लैजान नपाइने भएपछि समस्या भएको उनीहरु बताउँछन् । पूर्वी पहाडी जिल्लाबाट पशुपतिनगर नाका हुँदै भारतका दार्जिलिङ, सिलगुडी जान सजिलो हुने गरेको छ ।

 नेपालतर्फ केही समय अगाडि अध्यागमन केन्द्र स्थापना भएको भएपनि भारततर्फबाट अध्यागमन केन्द्र नखोलिँदा झनै सङ्कट परेको स्थानीयवासीको भनाइ छ । भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोवार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात–निर्यातको कारोवार नगर्दा व्यापारीको कारोवार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोवार नगर्दा नेपालका उत्पादन वैधानिकरूपमा भारततर्फ निकासी हुन सकेको छैन ।

 

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईका अनुसार गएका वर्षहरुमा पशुपतिगनर बजारमा दशैँ, तिहारजस्ता चाडपर्वका समयमा दैनिक रु ५० लाखमाथिको कारोवार हुने गरेको थियो ।  यस वर्ष दैनिक एक लाखमाथिको कारोवार नभएको उनले बताए।

विसं २०३६ मा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए तर यस प्रकारको कार्यले बजार प्रायः शून्य हुन थालेको छ । चीनबाट सोझै सामानहरु भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको अध्यक्ष राईको भनाइ छ ।

चीनले नुथला सीमा नाका हुँदै भारततर्फ आफ्ना उत्पादन निर्यात गर्न थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो । पशुपतिनगरमा व्यापार गर्ने ७०० व्यापारीमध्ये अहिले ३५० हाराहारीमा मात्र छन् ।

व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भई भारतको सिलगुडी, नेपालको काठमाडौँ, विराटनगर, विर्तामोडलगायतका शहरमा जाने गरेका छन् । बाहिर जाने व्यापारी रोक्नका लागि सरकारले कुनै काम नगर्ने हो भने झनै समस्या आउने भन्दै स्थानीयवासी चिन्तित छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टाइनलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको स्थानीय व्यापारीहरुको माग छ । स्थापना भएको अध्यागमन केन्द्रको कुनै काम नभएको भन्दै भारततर्फ पनि अध्यागमन कार्यालय सञ्चालन गरेर काम अगाडि बढाउन कूटनीतिक छलफल गरिनुपर्ने व्यापारीको भनाइ छ ।

भारततर्फ अध्यागमन केन्द्र नहुँदा नेपालको मात्र अध्यागमन केन्द्रले केही गर्न नसक्ने कर्मचारी बताउँछन्् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर  यहाँका विस्थापित हुने व्यापरीलाई रोक्न र सुक्दै गएको बजारलाई जगाउन विशेष पहल गर्न आवश्यक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ