इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्यायलयमाथि हस्तक्षेप गरी सत्ता कब्जातिर उन्मुख भएकाले वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । कोइरालाले आफैलाई गरेको सम्मान कार्यक्रममा बोल्दै यसो बताएका हुन् ।
नेता कोइरालाले विशेषगरी धर्म निरपेक्षताको विषयमा काँग्रेसकै केही नेताले बेलाबखत टीकाटिप्पणी गर्ने गरेको उल्लेख गरे । उनले भने, ‘सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीता काँग्रेसकै नेतृत्वमा संविधानमा लिपिबद्ध भएको हो र यसलाई संस्थागत गर्ने मुख्य दायित्व पनि काँग्रेसकै भएकाले यसबाट कांग्रेस पछि हट्दैन ।’ नेता कोइरालाले पछिल्लो समय युरोपियन युनियन र भारतले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख नेपालबारेको बुँदाबारे फरक अभिमत राख्दै नेपालको सार्वभौमिकतालाई वर्तनमान समय सान्दर्भिक बनाउनु पर्ने बताएपछि चर्चामा आएका थिए ।
उनले नेपालको सार्वभौमिकता १९ औं सताब्दीकै पेरिफेरीको भएकाले अब नेपाली मानसिकता त्यसैमा अल्झिन नहुने बताएका थिए । कोइराला धरानको विकासमा निरन्तर टेवा पुर्याएकाे भन्दै सम्मानित भएका छन् । उनलाई नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले सम्मान गरेको हो ।