arrow

पर्यटन प्रवद्र्धन गर्न भिडियो बनाउनेलाई पुरस्कारको व्यवस्था, सुरज वैद्यद्धारा पाँच लाखको घोषणा

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार

काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि विभिन्न तहबाट प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने काम भइरहेको छ । यसका लागि वि विल राइज फाउन्डेसनले पनि सघाउने भएको छ । 

फाउन्डेसनले यसअघि नै देशको कला, संस्कृति, जातजाति, पहिचान, खानपिन लगायत समेटेर भिडियो प्रतियोगिता गराएकामा अब पर्यटन वर्षलाई सघाउने गरी पाँच मिनेटभित्र रहेर आफ्नो क्षेत्रको भिडियो तयार गरी पठाउनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

दूरदराजका क्षेत्रहरुमा भ्रमण वर्षबारे चेतना जगाउन  र आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्न यसले ठूलो सहयोग पुर्याउन सक्ने विश्वास फाउन्डेसनले लिएको जनाएको छ । 

शुक्रबार भिजिट नेपाल २०२० को सचिवालयमा आयोजित कार्यक्रममा भिडियो प्रतियोगिताका विजेतालाई दिने रकम पनि सार्वजनिक गरिएको छ । 

बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ पाउने छ । त्यस्तै पब्लिक च्वाइस अवार्ड र बेस्ट डिरेक्टरले समान ३–३ लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै वुमन भिडियो मेकर अफ द इयर, फ्युचर स्टार अफ द इयर, मोस्ट पोटेन्सियल डेस्टिनेसन, मोस्ट एनर्जेटिक भिडियो मेकर, बेस्ट स्क्रिप्ट भ्वाइस ओभर, बेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटरले जनही एक एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

कार्यक्रममा उद्योगी एवं भिजिट नेपाल २०२० का ब्राण्डएम्बास्डर सुरज वैद्यले पाँच लाख रुपैयाँ दिने घोषणासमेत गरेका छन् । 

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले नेपालका पर्यटन क्षेत्रलाई चिनाउन थप मद्धत पुग्ने आयोजकको दावी छ । 

सहभागीता जनाउन खोज्ने प्रतियोगीले वि विल राइज फाउन्डेसनको वेबसाइटमा रजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । 

निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । 

छनोट भएका उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिलमा वृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिने भएको छ । 

यो कार्यक्रम सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सफल हुने दावीसमेत गरिएको छ । 

१०० दिनसम्म चल्ने प्रतियोगिताका लागि प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ तारिखसम्म भिडियो पठाउनु पर्नेछ । 

‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा गत वर्ष गरिएको प्रतियोगितामा १३२ भिडियो प्राप्त भएकामा गत असार १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा छनोट गरिएको थियो । 

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न भएकामा यसपटक गण्डकी प्रदेश र ८० भन्दा बढी फैलिएको गैरआवासीय नेपाली संघसमेत जोडिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ