arrow

नेपाली क्रिकेटले वेष्टईण्डियन टोलीसँग प्रेरणा लिनसक्छ- पुबुदु दाशानाएके

बेष्टईन्डिज क्रिकेट बोर्डमा पनि समस्या रहेको छ ।

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
Pubudu_Dasanayeke_TU.jpg.jpeg
काठमाडौं। बिभिन्न समयमा उतार चढावबाट गुज्रिरहेको नेपाली क्रिकेट अहिले क्यान बिना नेपालमा क्रिकेट आयोजना गर्ने स्थितीमा आईपुगेको छ। क्यानका बिभिन्न तीन बोर्ड रहेको र आधिकारिकताकालागि अदालतमा मुद्दा परेको स्थिती रहेको छ। अदालतको फैसला आउन समय लाग्ने निश्चित छ। 
 
नेपालले विश्व क्रिकेट लीग अन्तर्गत नामिबियासँग खेल्दै छ। आफ्नो घरेलु मैदानमा आईसीसीले आयोजकको भुमिका सम्हालिदिएर नेपाली क्रिकेटलाई गुन लगाएको मान्न सकिन्छ। आइसीसीले गुरजित सिंहलाई आयोजकको जिम्मेवारीका साथ पठाएको छ साथै बाँकी टिम मेम्बर पनि आईसीसीले नै ब्योहोरेको छ। 
 
नेपाली टोलीकालागि भनेर पुबुदु दाशानाएकेलाई परामर्शदाता कोच (कन्सलट्यान्ट कोच)का रुपमा पठाएको छ। पुबुदु आएपछि नेपाली टोलीमा खुशी छाएको छ। कप्तान पारस खड्कालाई पुबुदु आएको कस्तो लाग्यो भन्दा उनले मुस्कुराउँदै भने' जहिले खुशी लाग्छ। नेपाली क्रिकेटलाई अझ पुबुदुको खाँचो छ।' 
 
नेपाली टोलीका सबैभन्दा पाका खेलाडी शक्ति प्रसाद गौचनले पनि आफ्नो चिर-परिचित मुस्कानका साथ भने ' एक दम खुशी लागिरहेको छ।' 
 
हामी त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पुग्दा पुबुदु नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरलाई उनको ब्याटीङमा रहेको कमजोरीका बारे कुरा गरिरहेका थिए। 
प्रत्येक खेलाडीहरुसँग आफै व्यक्तिगत रुपमा बलियो रकमजोर पक्षमा गफ गर्न रुचाउने र सल्लाह दिएर कमजोरीलाई शक्तीमा बदल्ने पुबुदुको कार्यशैली अन्तर्गत पर्दछ।  
 
'केटाहरु मिहिनेत गरिरहेका छन्। सकरात्मक पनि रहेका छन् तर खेलाडीहरु फर्ममा रहन र फिट हुन लगातार खेल खेलिरहेको हुनु पर्नेमा नेपालका खेलाडीहरुले उक्त मौका पाउने गरेका छैनन्। तीन महिना खेलाडीहरु बिना खेल बसेपछि खेलाडीहरुबाट १००% खेल निकाल्न गाह्रो हुन्छ' पुबुदुले हाम्राकुरासँग भने। 
 
नेपाली टोलीलाई कसरि उत्प्रेरित गरिरहनु भएको छ भन्ने प्रश्नमा पुबुदुले स्पष्ट रुपमा भने -' वेष्टईन्डिजले विश्वकप जित्नु राम्रो उदाहरण हो । उनीहरुको पनि बोर्डमा समस्या रहेको छ। उनीहरुको बोर्डले जस्तो गरेपनि वेष्ईण्डिजका खेलाडीहरुले लगातार क्रिकेट खेल्न छाडेनन्। उक्त खेलहरुले उनीहरुलाई फोकस र फिट बनाईरह्यो जुन अन्तत: विश्वकप जित्नकालागि सहयोगी हुन गयो।' 
 
नेपाली खेलाडीहरुले पनि क्रिकेट खेलीरहन पर्‍यो । जति खेल खेलिन्छ उती राम्रो हुन्छ । राम्रो खेलाडी टोलीकालागि जहिले पनि सम्पति हुन् पुबुदुले भने। 
 
नेपालले नोवेम्बर २०१५मा विश्व क्रिकेट लीग अन्तर्गत पपुवा न्यु गिनीसँग खेलेको थियो। नेपालको आफ्नो घरेलु मैदानमा खेल्नुपर्ने खेल युएईमा खेलेको थियो। नेपालमा चलिरहेको बोर्डको विवादले उक्त खेल नेपालमा हुन सकेन्। 
 
नामिबिया पछि नेपालले नेदरल्याण्डसँग विश्व क्रिकेट लीग अन्तर्गतको खेल खेल्ने छ। त्यो खेल नेदरल्याण्डमा खेलिनेछ। युरोपको कण्डिसनमा खेल्न नेपाली टोलीलाई यसै गाह्रो पर्नेछ। अगस्त-नोवेम्बर २०१६मा कुनै समयमा नेपालले नेदरल्याण्डको सामना गर्ने छ। 
 
नामिबियासँगको खेलपछि नेपालि क्रिकेट फेरि शान्त बस्ने छ र प्रतियोगिताको मुखमा फेरि जुर्मुराउने प्रयास गर्ने पक्का छ। 
 
' चौथो-पाँचौं डिभिजनका टोलीहरुकालागि यसरी पनि खेलेर सफलता हात पार्न सकिएला तर पहिलो डिभिजनमा पुगेको टोलीले यसरी सफलता पाउन प्राय असंभव हुनेछ '- पुबुदुले चिन्तित भएर सुनाए। 
 
तयारी कस्तो छ त ? भन्ने प्रश्नमा कप्तान पारस खड्काले भने 'आफ्नो तर्फबाट सबै तयारी गरिरहेका छौं। अब खेलमा गएर प्रदर्शन गर्न बाँकी छ'। उनी सकरात्मक देखिएका छन्। कप्तानले फेरि पनि अदालतको निर्णयमा हाम्रो क्रिकेटको भविष्य निर्धारित गर्ने बताउन भने छुटाएनन्। 
 
सायद अदालतले चाँडै फैसला गर्ने छ र नेपाली क्रिकेटले फेरि एकपटक लय समात्ने आशा गरिरहेक प्रशंसकहरुले खुशी साट्ने मौका पाउने छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ