- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपनिर्वाचनको परिणामलाई लिएर समाजवादी पार्टी नेपालमा विवाद सिर्जना भएको छ । खासगरी पूर्व नयाँ शक्ति र पूर्व संघीय समाजवादी फोरम नेपालका नेताहरुवीच मनुमटाव सिर्जना भएको छ ।
उपनिर्वाचनमा समाजवादी पार्टी दुई नम्बर प्रदेशमा मात्र केन्द्रित भएको छ । जबकि उपननिर्वाचन भएको सबै ठाउँ ५२ वटामै समाजवादी पार्टीले उम्मेदवारी दिएको थियो । तर प्रदेश २ बाहेक अन्य प्रदेशमा उपनिर्वाचनको परिणाम समाजवादी पार्टीका लागि निकै निराशाजनक देखिएको छ ।
प्रदेश २ भने समाजवादी पार्टीले दोब्बर प्रगति गरेको छ । यसअघि समाजवादी पार्टीले प्रदेश २ का दुई वडा मात्र चुनाव जितेको थियो । अहिले त्यसमा दोब्बर प्रगति गरेर ४ वटा वडामा चुनाव जितेको छ ।
तराइ मधेसमा समाजवादी पार्टीको प्रतिष्पर्धी दल राष्ट्रिय जनता पार्टी नेपाल भने प्रदेश ५ पनि विजयी पाएको छ । प्रदेश ५ को कपिलबस्तुको एउटा वडामा राजपाका नेता वडा अध्यक्षमा विजयी भएका छन् । तर समाजवादी पार्टी प्रदेश ५ मा शून्य भएको छ ।
समाजवादी पार्टीले उम्मेदवारी दिएको पहाडी क्षेत्रमा त्यसमा पनि समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्व नयाँ शक्ति पार्टीका नेताहरूको प्रभाव रहेको भनिएको केही ठाउँमा समाजवादी पार्टीले २ भोट मात्र ल्याएको छ । पोखरा बाहेक अन्य ठाउँमा पनि समाजवादी पार्टीले निराशाजनक भोट ल्याएको छ । पोखरामा ल्याएको भोटसँग भने समाजवादी पार्टीका नेताहरु खुशी छन् ।
पहाडी क्षेत्रमा त्यसमा पनि पूर्व नयाँ शक्ति पार्टीका नेताहरूको प्रभाव रहेको ठाउँमा समाजवादी पार्टीले २–४ भोट मात्र ल्याउनुलाई पूर्व फोरमका नेताहरु सन्तुष्ट छैनन् । ‘पहाडी क्षेत्रमा हामीले जति भोट ल्याउने अनुमान गरेका थियौ ।
त्यो भोट आउन सकेन । यो सत्य हो, ‘पूर्व फोरमका नेता तथा हाल समाजवादी पार्टीका सचिव इस्तियाक राइले भने, ‘तर प्रदेश २मा भने समाजवादी पार्टीले ल्याएको भोटप्रति हामी निकै उत्साहित भएका छौ ।’
स्रोतका अनुसार उपनिर्वाचनको परिणामा आएपछि उपनिर्वाचनको परिणामको विषयमा समीक्षा गर्न भनी समाजवादी पार्टीको पदाधिकारीको बैठक बोलाइएको थियो । उक्त पदाधिकारी बैठकमा पूर्व नयाँ शक्ति र पूर्व फोरमका नेताहरुवीच चर्काचर्की भएको थियो । पार्टी स्रोत भन्छ, ‘उक्त बैठकमा पूर्व नयाँ शक्तिका नेताहरुले तत्काल सरकार छाडी आन्दोलनमा जान पार्टी नेतृत्वलाई दबाब दिएका थिए ।’
स्रोत भन्छ, ‘पूर्व नयाँ शक्तिका ती नेताको बोली भूइमा खस्न नपाउँदै बैठकमा पूर्व फोरमका एक नेताले भने तत्काल सरकार छाडेर आन्दोलनमा जाऔ तर आन्दोलनको सुरुवात पार्टीका अध्यक्ष बाबुराम भट्टराईको गृह जिल्ला गोरखाबाट सुरु गरौं। त्यो आन्दोलन कस्तो हुन्छ, त्यो हेरौ ।’
पूर्व नयाँ शक्ति पार्टीका नेताहरु भने पार्टी एकीकरण गर्नुअघि भएको सहमति अनुसार एकीकरणपछि समाजवादी पार्टीले तत्काल सरकार छाड्नु पर्ने अडान राख्दै आएका छन् । पूर्व सहमति कार्यान्वनयन नभएकोमा पूर्व नयाँ शक्ति पार्टीका नेताहरु दुखित भएको स्रोतको भनाइ छ ।
तर पूर्व फोरमका नेताहरु भने समाजवादी पार्टी र राजपावीच एकीकरण हुन नसक्नुमा पूर्व नयाँ शक्तिका नेताहरु जिम्मेवार रहेको ठोकुवा गर्छन् । पूर्व फोरमका एक नेता भन्छन्, ‘हामीलाई सरकार छोड्न कुनै समस्या छैन तर समाजवादी पार्टी र राजपावीच एकीकरण हुनै नदिन उहाँहरु (पूर्व नयाँ शक्तिका नेताहरु) लाग्नु भएको छ ।’
स्रोत भन्छ, समाजवादी पार्टी र फोरमबीच एकीकण गर्न एकीकृत पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर हुनुपर्छ भन्ने राजपाले शर्त राखेको छ तर पूर्व नयाँ शक्तिका संयोजक भट्टराई भने आफू कुनै अवस्थामा पनि पहिलो अध्यक्ष छाड्न तयार छैनन् ।
जवकि कार्यकारी अध्यक्ष उपेन्द्र यादव ठाकुरलाई पहिलो अध्यक्ष मान्न तयार छन् । पूर्व फोरमका ती नेता भन्छन, ‘त्यसैले समाजवादी पार्टी र राजपावीच एकीकरण हुनै सक्दैन । किनभने उहाँ (भट्टराइ) ले पहिलो मर्यादाक्रम छाड्नै चाहनुहुन्न ।’
सरकार छाड्ने विषया सामान्य भएको उनको विश्लेषण छ । उनी भन्छन् ,‘सरकार छाड्ने नछाड्ने विषय ठूलो विषय होइन । दुई पार्टीबीच एकीकरणको सहमित हुने बित्तिकै एक घण्टामा हामीले सरकार छाड्छौ ।’