arrow

घनश्याम भुषाल मन्त्री हुनासाथ कृषि मन्त्रालयमा राजनीतिक नियुक्ति सुरु

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
ghanashyam-bhusal.jpg

काठमाडौ । २० महिनासम्म पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड, र समितिका प्रमुखको नियुक्ति गर्न नसकेपछि चक्रपाणी खनाल मन्त्रीबाट पदमुक्त भए ।

खनाल पदमुक्त भएपछि कृषि मन्त्री भएका नेकपा नेता घनश्याम मन्त्रीले मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड र समितिका पदाधिकारीको नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । त्यसका लागि उनले बिहीबार रिक्त पदाधिकारी नियुक्तिका लागि सूचना निकालेका छन् । 

कृषि मन्त्रालय अन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडका लागि अध्यक्ष र प्रबन्ध संचालक दुवै पदका लागि सूचना निकालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष र कार्यकारी निर्देशक माग गरिएको छ । 

त्यसैगरी कपास विकास समितिको अध्यक्षका लागि आवेदन माग गरिएको छ । दुग्ध विकास संस्थानको अध्यक्ष र महाप्रबन्धक माग गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ । 

यी संस्थान, बोर्ड र समिति निमित्तका भरमा चल्दै आएका छन् । कतिपय संस्थानमा २ बर्षदेखि अध्यक्ष र कार्यकारी प्रमुख रिक्त छन् । 

सूचनामा अध्यक्ष र उपाध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातोत्तकर उत्तीर्ण गरेको हुनुपर्ने दरखास्त दिने दिनसम्म ३५ बर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ । 

प्रबन्ध संचालक, कार्यकारी निर्देशक र महाप्रबन्धकका लागि सम्बन्धित सार्वजनिक निकायको कार्यप्रकृतिसँग सम्बन्धित बिषय वा प्रशासन, ब्यवस्थापन, अर्थशास्त्र वा कानुन बिषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको र ३५ बर्ष पूरा भई ६० बर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । कुनै संस्था वा निकायमा ब्यवस्थापकको हैसियतले कम्तीमा ५ बर्षको अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

यसअघि संस्थान र बोर्डमा प्रबन्ध संचालक, महाप्रबन्धक र कार्यकारी निर्देशक नियुक्ति गर्ने र अध्यक्ष मन्त्रालयकै सहसचिव हुने ब्यवस्था थियो । जुन मितब्ययिताका दृष्टिकोणले उपयुक्त भए पनि कृषि मन्त्रालयले अध्यक्ष पनि नियुक्ति गर्नका लागि सूचना निकालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ