काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गतथ शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । उद्घाटनको सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरी यी खेलहरु हुन लागेका हुन् ।
जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । कुस्ती जनकपुरमा जारी छ । बाँकी खेल काठमाडौंमा हुनेछन् ।
फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो १ः३० बजे हुनेछ ।
यस्तै अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः३० बजे पछि हुनेछ ।
महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल अपरान्ह ४ बजे हुनेछ ।
क्रिकेटमा पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।
महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।