arrow

ज्येष्ठ नागरिकले धानेको धान खेती

logo
जीवन शर्मा,
प्रकाशित २०७६ मंसिर २१ शनिबार
dhan-kheti-photo.gif

ओखलढुंगा। मंसिर महिना, यतिवेला मानोरोपी मुरी उब्जाएर भित्र्याउने समय हो। गाउँघरका अधिकांश खेतहरुमा लटरम्म पाकेको धानखेति भित्र्याउन किसानलाइ दिनरात चटारो छ। त्यही मानोरोपी मुरी उब्जाउने र घरपरिवारका सबै सदस्यलाई बर्षदिन भरी खानेकुराको जोहो गर्ने काममा अहिले ज्येष्ठ नागरिकहरुमात्र खट्नु परेको छ।  गाउँघरका कतिपय युवाहरु उच्च शिक्षा हासिल गर्न र जागरि खानका लागि शहर केन्द्रीत छन भने बाँकी धेरैजसो देशमा रोजगारी नपाएर विदेशिएका छन्। गाउँमा युवा जनशक्ति नभएपछि खेत बारीको काम तिनै ज्येष्ठ नागरिकले धान्नुपर्दा अधिकांश खेतहरु बाझै छाड्नु परेको छ । 

जिल्लाको लिखु गउँपालिका–८ का अमृत बहादुर पौडेललाई जब धान लगाउने असार र धान थन्क्याउने मंसिर लागेसंगै खेती लगाउने र भित्र्याउनको चिन्ताले सधै सताइरहन्छ। उनि भन्छन,“गाउँमा युवा अवस्थाका कोही छैनन् ।’ बुढाबुढीहरुले धानेको खेतीले कतिन्जेल पुग्ला र ? नियमित सिंचाइको सुविधा भएको खेत अरुलाई कमाउन दिदा उल्टै आफैलाई काम लगाउलान भन्ने डर भएको छ ।” नेपालको प्रमुख खाद्य बाली धान लगाउन र थन्क्याउन धेरै जनशक्ति चाहिने बेलामा काम गर्न सक्ने युवा तन्नेरी मान्छे नपाइँदा किसान कर्म गर्ने ज्येष्ठ नागरिकलाई निल्नु न ओकल्नु भएको छ । 

“धान काट्ने खेताला नपाउँदा पाकेर खेतमै झर्न थाल्यो, लिखु गाउपालिका ६ का निलकमल भट्टराईले जसोतसो काटेको धान झारेर घरसम्म पुर्‍याउने मान्छे समेत पाउन छाडेको छ ।” धानको काम गर्न जाँगर भएका बलिया मान्छे चाहिन्छन, जो कोहीले टाउकोमा बिटा राखेर हिँड्न सक्दैन । हप्ता दिनभन्दा अगाडिबाट नै काम गर्नका लागि कामदार अरूकोमा नै बोलकबोल गरेका कारण आफूले मान्छे नै नपाएको लिखु गाउँपालिका –६ का लेकिन्द्र भट्टराईले सुनाए । काम गर्ने जोस र जाँगर भएका बलिया अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने जागिर तथा व्यापार गर्दै आएका आफ्नै पेसा व्यवसायमा व्यस्त छन् । धान पाकेर झर्न थालिसक्दा पनि काम गर्ने मान्छेको अभावमा किसानले समयमै धान थन्काउन नसक्ने अवस्था आएको अधिकांश कृषकहरुको गुनासो छ । यसो हुँदै जाने हो भने गाउमा वस्तारै भोकमरी चल्न सक्ने उनिहरुको चिन्ता छ। 

पछिल्लो समय कामदार खोज्न गाउँ चाहार्नै नपर्ने लिखु ६ गाम्नाङटारकी धनकुमारी भुजेलले बताइन् । उनि भन्छिन, ‘‘यो समयमा सबैको उत्तिकै चटारो हुन्छ र गाउमा युवाशक्ति भन्ने कोही छैनन् । त्यसैले जति सकिन्छ आफैले गर्ने हो ।” विगत दशक देखि नै युवाहरु विदेशिने समस्याका कारण गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्र भेटिन्छन् । देशको व्यवस्था परिवर्तन भएपश्चात गाउ घर र आफ्नै देशमा रोजगारी पाइने आसमा बसेका स्थानीय नागरिकमा पछिल्लो समयमा यो समस्या झनै जटील बन्दै गएको बुझाइ छ। ओखलढुंगामा धानको उत्पादनका पकेट क्षेत्रहरू रामपुर, शिल्खुबेंसी, शेर्नाबेंसी, शेराबेंसी, नर्मदेश्वर, गाम्नाङटार, जरायोटार हर्कपुर, लोर्खबेंसी लगायतका ठाउँका कृषकहरुलाई मजदुरको अभावकै कारण धान खेती थन्क्याउन नसक्ने अवस्था आएको बताउँछन् ।  

जनशक्ति कम भएर पनि गाउँमा ज्याला अत्यधिक वृद्धि भएको छ। रोपाइँ गर्न तथा धान बोक्न र झार्न गाउँघरमा एक जना पुरुष खेतालाको दैनिक ज्याला एक हजार देखि एक हजार ५ सय रुपियाँसम्म चल्ने गरेको छ। महिला मजदुरलाई ५ सयदेखि ८ सय रुपियाँसम्म दिन पर्छ। खेती गर्न किसानले आम्दानी भन्दा लगानी बढी गर्न बाध्यता रहेको छ। पहाडमा दुई हजारको धान उत्पादनका लागि रोप्न देखि भित्र्याउनसम्म ७–८ हजार रुपियाँ खर्च हुने कृषकहरुको भनाइ छ। गाउँमा युवाशक्ति नहुँदा पछिल्लो समय कसैकोे विवाहमा जन्ती र मृत्यु हुँदा मलामी जाने मान्छे समेत पाइन छाडेको उनिहरुको अनुभव छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ