काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिको दोस्रो साधारण सभाले आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर आइपिओ निष्काशन गर्ने निर्णय गरेको छ।
सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा गत मंसिर २३ मा काठमाडौंमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आव २०७५/७६ को वित्तीय विवरण पारित गरेको छ।
साथै गत २३ गते बसेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ। ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत समेत हुन्।
साधारण सभामा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एनआईसी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो।
यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख सूचना अधिकारी सुविन काजी श्रेष्ठद्धावारा जारी विज्ञप्तमा बताइएको छ।