arrow

सशस्त्र समूहले दियो आन्दोलनको चेतावनी

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
sasatrasa.jpg.jpeg
काठमाडौं। विभिन्न ११ वटा सशस्त्र समूहहरुले आफूहरुसँग भएका सहमति तत्काल कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुसँग सरकारको तर्फ बाट संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्र्तगर्तको प्रारम्भिक वार्ता टोली उपसमितिले गरेको सहमतिलाई दुई वर्ष बितिसक्दा पनि राज्यले सहमति पालना गर्नुको सट्टामा आफ्नो नेता तथा कार्यकर्तालाई पक्रेर सहमतिलाई भंग गरेको भन्दै आपत्ति जनाएका छन् । 
 
सशस्त्र समूहका तर्फबाट सहमति कार्यान्वयन संघर्ष समितिका संयोजक रामवृक्ष महतो (विवश विद्रोही) ले आफूहरुसँग भएका सवैखाले सहमति तथा सम्झौताहरुलाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । उनले भने,‘हामीसँग गरिएका सहमतिहरु पालना गरिएन भने हामी बाध्य भएर कडा आन्दोलनमा उत्रिन्छौं ।’सरकारले सम्झौता पालना नगरेर नेपाली जनताको स्थायी शान्तिको चाहनामाथि खेलबाड गरेको भन्दै आफूहरुले आजै शान्ति तथा पूर्ननिर्माणमन्त्रीलाई आठ बुँदे ध्यानाकार्षण पत्र समेत बुझाएको उनले जानकारी दिए । 
 
समितिले सरकारले आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने, झुठा मुद्दा तत्काल खारेज गर्नुपर्ने, नेता तथा कार्यकर्ताको सूरक्षाको प्रत्याभुति हुनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिईनुपर्ने लगायतका ८ बुँदे मागहरु अघि सारेको छ । कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री अनिल झाले सशस्त्र संघर्ष छोडेर शान्तिपूर्ण राजनीतिमा होमिएकाहरुलाई राज्यले बेवस्ता गरेकोमा गुनासो पोख्दै सशस्त्र समूहसँग भएका सहमतिलाई अक्षरंश पालना गर्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखे । 
 
उनले भने,‘राज्यलाई हतियार बुझाएर क्रान्तिकारी चरित्र त्यागिसकेका समूहहरुलाई कुनै रेस्पोन्स नै नगरेर सरकार उदासिन बनिरहेको छ ।’ 
शान्तिपूर्ण राजनीतिक गरिरहेका मधेशवादी दललाई समेत विभेद गरिरहेको सरकारले अब विलम्ब नगरिकन सशस्त्र समूहसँग गरेका सम्झौता पालना गरेर मुलुकमा शान्ति, स्थायित्व र विकास गर्न पछि पर्न नहुने अध्यक्ष झाको सुझाव छ । 
 
संघर्ष समितिमा जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा नेपाल, संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति पार्टी, तराई मिलेटरी मोर्चा, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी, जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी, किराँत जनवादी वर्कश पार्टी र जनतान्त्रिक तराई मधेश मुक्ति मोर्चा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ