arrow

वर्षान्तको दुखद दुर्घटना : सडकमा थुपारिएको माटो भासिँदा बस भीरमा खस्यो, २४ को मृत्यु

logo
केदार मगर।
प्रकाशित २०७२ चैत ३० मंगलबार
खोटाङ । स्तरोन्नति गर्ने क्रममा सडकको छेउमा थुपारिएको माटो भासिएर बस दुर्घटना हुँदा खोटाङमा २४ जनाको ज्यान गएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा भएको बस दुर्घटनामा १७ पुरुष र सात महिला गरी २४ जनाको ज्यान गएको हो । दिक्तेलबाट मङ्गलबार बिहान पाँच बजे १८ जना यात्रु लिएर काठमाडौँ हिँडेको बा २ ख ६३७६ नं को बस महादेवस्थान–१ स्थित बर्खेटारमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा बस चालक काठमाडौँ घर भएका अर्जुन उप्रेती, दिक्तेल नगरपालिका–१४ का सन्तोष कटुवाल, दिप्सुङका गोविन्द तिम्सिना, च्यास्मिटारका रवीन राई, डिकुवा–८ का मेजर राई, खार्मी–५ की मित्रकुमारी राई, निर्मलीडाँडा–३ की विमला राई, याम्खा–७ का भैरव राई, उदयपुर बाँसबोटे–३ का द्रवीन राई, उदयपुर ताम्लिछा–७ की शान्ता राई, ताम्लिछा–५ का ओमश्री राई, ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाउँका भाजुनारायण श्रेष्ठ, सोलुखुम्बु पञ्चन–१ का सोम सुन्दास र सोलुखुम्बु घर भएकी सुस्मा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । दुर्घटनामा मृत्यु हुने अन्य नौ जनाको सनाखत हुन सकेको छैन । 
 
दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । उनीहरुका आफन्त आएपछि सनाखत तथा परीक्षण गरेर जिम्मा लगाइने प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । 
 
घाइतेको काठमाडौँमा उपचार हुँदै 
 
दुर्घटनामा परी ३१ जना घाइते भएका छन् । गम्भीर प्रकृतिका घाइते २३ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पु¥याइएको छ । २३ जनामध्ये १२ जनाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, तीनजनाको बसुन्धरास्थित ग्रिनसिटी, तीन जनाको ग्वार्कोस्थित बिएण्डबी, दुईजनाको वीर अस्पताल र एक जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । सामान्य प्रकृतिका घाइते आठजनाको भने स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ । 
 
घाइतेमध्ये २७ जनाको पहिचान भएको छ । गम्भीर घाइते हुनेमा खोटाङ च्यास्मिटार–८ की सर्मिला राई, सोही ठाँउका रामकुमार राई, बास्पानी–२ की रेश्मा राई, रतन्छा–७ बस्ने नीनम राई, सोही ठाउँका प्रशान्त राई, दिक्तेल नगरपालिका–२ बस्ने सजिना बर्देवा, खोटाङबजार–२ की पाथेका–४ मा बस्ने मिलन राई, बाँस्पानीका जक्सन राई, दिक्तेल नगरपालिका–११ लफ्याङ्की देवका कटवाल, दिक्तेल खाल्ले–१३ का मनोज बस्नेत, खार्मी–५ बस्ने खड्गबहादुर राई, दुर्छिम घर भएका प्रेमकुमार राई र डिकुवा–६ का शुक्र राई रहेका छन् । 
 
त्यस्तै, उदयपुर ताम्लिछा–५ का ढकबहादुर राई, उदयपुर डाँडागाँउ–१ का अमरबहादुर मगर, उदयपुर ताम्लिछा–५ का खेमराज राई, उदयपुर बास्बोटे–३ का तीलकशेर राई, धनुषाका रघुनाथ शाह, मोरङका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारी घाइते भएका छन् । गम्भीर घाइते भएकामध्ये तीनजनाको पहिचान खुल्न सकेको छैन । 
 
यस्तै, सामान्य घाइते भएका अन्य आठ जनाको प्राथमिक स्वास्थ्य चौकी हलेसीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साँघुरो तथा धुलाम्मे सडकबाट १५० मि तल खसेको बस भिरको थुम्कामा रहेको बाँसको झ्याङमा अड्किएको छ । दुर्घटना भएलगत्तै दिक्तेलबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो । 
 
भिरालो ठाउँमा भएको दुर्घटनाका कारण घाइते तथा मृतकको शव पाखा र खोल्साखाल्सीमा छरिएर रहेको अवस्थाबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले बताउनुभयो । कालोपत्रका लागि सडक फराकिलो पार्ने क्रममा दिक्तेल–हलेसी सडक खण्डको विभिन्न ठाउँमा ढुङ्गा थुपारिएको थियो । 
 
साँघुरो सडक/क्षमताभन्दा दोब्बर यात्रु 
दुर्घटनास्थलमा माथिबाट झरेको ढुङ्गाले सडक साँघुरो पारेको घटनास्थल पुगेका ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताउनुभयो । “बसमा यात्रु पनि धेरै चढाएका रहेछन्”–उहाँले भन्नुभयो, “ढुङ्गा झरेर साँघुरो बनेको सडकमा छेउबाट पार गराउन खोज्दा बस पल्टिएको देखिन्छ ।”
 
चौँतीस सीट क्षमता रहेको बसमा ५५ जना यात्रु सवार रहेको पाइएको छ । दिक्तेलबाट १८ जनाको चलानी लिएर हिँडेको बसले बीचबाटोबाट सिट सङ्ख्याभन्दा २१ जना बढी यात्रु थपेको थियो ।  दुर्घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब दश कोस टाढा पर्छ । दुर्घटनाग्रस्त क्षेत्र मानिएको बर्खेटारमा २०६५ सालमा पनि जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो । 
 
जिल्ला शोकमग्न 
जिल्लामा भएको सवारी दुर्घटनामध्ये यो सबैभन्दा ठूलो दुर्घटना हो । दुर्घटनामा अधिकांश जिल्लाबासीको ज्यान गुमेपछि जिल्ला शोकमग्न बनेको छ । दुर्घटनापछि जिल्लास्थित राजनीतिक दल, विभिन्न सङ्घसंस्थालगायतले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ