arrow

विराटनगर जुत्ता चप्पल व्यापार मेलामा डेढ करोडको कारोबार गर्ने लक्ष्य 

आधा दर्जन ब्राण्डका जुत्ता चप्पल रहेको मेला एक महिना चल्ने

logo
प्रकाशित २०७६ पुष २ बुधबार
birat-footwear-expo.jpg

विराटनगर । विराटनगरमा स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले जुत्ता चप्पल व्यापार मेला (विराट फुटवेयर एक्स्पो) सुरु भएको छ । मेलाको उद्घाटन गर्दै प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्कोतर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भइरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको बताएका छन् ।

मंत्री कुसियतले स्वदेशी उद्योग स्थापना र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहकार्य गरिरहेको बताएका हुन् ।

मेलामा नेपालमा नाम चलेका चर्चित शिखर सुज, बि एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता चप्पल राखिएको छ ।

‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगरस्थित जैन भवनमा आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

उनले नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको दावी गरे । उपाध्यायले विदेशी कच्चा पदार्थ आयात गरी विदेशी जुत्ता चप्पलसंग नै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली जुत्ता चप्पल केही महंगो हुने गरेको भए पनि गुणस्तरमा भने कुनै कमी नरहेको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संघठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजाल लगायतले मेलाको सफलताका लागि शुभकामना दिएका थिए ।

मेलामा १ सयदेखि १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता–चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने मेला संयोजक उपाध्यायले जानकारी दिए । उनले मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखि ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको बताए ।

एक महिनासम्म चल्ने जुत्ता चप्पल व्यापार मेलामा १ करोड ५० लाख रुपैयाको कारोबार हुने अनुमान गरिएको छ । मेलाको पहिलो दिननै चुत्ता चप्पल खरिद गर्न आउने उपभोत्ताहरुको भीड लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ