लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने प्रस्ताव पारित
प्रकाशित २०७६ पुष ६ आइतबार
935
Shares
काठमाडौं। लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै आइतवार सम्पन्न भएको छ।
प्रस्ताव पारित गरेसगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ८१ करोड पुगेको जनाएको छ। साधारण सभाले आर्थिक वर्ष २०७५-७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ।
आव २०७५-७६ मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १०६ अर्ब रहेको छ। सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन्।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफलभएको छ। तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैंक अगाडी आएको छ। उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ।
लक्ष्मी बैंकले प्रविधिका माध्यमको उच्चतम प्रयोग गर्दै हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ।