नयाँ दिल्ली (भारत)। विश्वभर रहेको बाघको सङ्ख्यामा एक शताब्दीको समय अवधिमै पहिलो पटक वृद्धि भएको वन्यजन्तु संरक्षण समूहले बताएका छन्।
पछिल्लो गणनाअनुसार बाघको सङ्ख्या ३ हजार ८ सय ९० पुगेको वन्यजन्तु संरक्षण समूहले सोमबार बताएका छन्।
विश्वभर वन्यजन्तु संरक्षण कार्यमा कार्यरत् समूहले सम्बन्धित देशसँग समन्वय गरी लिएको यो सङ्ख्या सन् १९०० पछि बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको पहिलो तथ्य हो।
सन् १९०० मा विश्वभर करिब एक लाख बाघ रहेको बताइए पनि त्यसपछिका गणनामा बाघको सङ्ख्यामा लगातार गिरावट हुँदै आएको थियो।
गणनाअनुसार विश्वमा बाघको सबैभन्दा धेरै सङ्ख्या एसियाली मुलुक भारतमा भएको बताइएको छ। भारतमा मात्र दुई हजार २ सय २६ बाघ रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ।
तर केही जनावर विज्ञहरुले बाघको सङ्ख्यामा नै वृद्धि भएको मान्न भने तयार छैनन्। उनीहरुले बाघको सङ्ख्या वृद्धि भएको भन्दा पनि जनावर विज्ञहरु बाघको सङ्ख्यामा भएको ह्रासपछि यसको संरक्षण प्रयासमा वास्तविक बाघको सङ्ख्या पत्तालगाउने कार्यमा लागेको भन्दै यस अभियानको स्वागत गरेका छन्।
सन् २०१० मा भएको गणनामा बाघको सङ्ख्यामा एकदम निराशाजनक तरिकाले ह्रास आएको पाएपछि संरक्षणकर्तालाई थप सावधानीका साथ लोप हुने अवस्थामा पुगेको बाघको संरक्षणका लाग्न आग्रह गरिएको थियो।
अभियान अन्तर्गत सन् २०२२ सम्म सन् २०१० मा पाइएको बाघको सङ्ख्या दोब्बर बनाउन वन्यजन्तु संरक्षणका लागि लाग्न सबैलाई अनुरोध गरिएको थियो।
यसमा हलिउड अभिनेता लियोनार्डो डिकाप्रियो लगायतका प्रसिद्ध राजनितिज्ञ तथा समाजसेवीले विश्वभर पहल थालेका थिए।
विभिन्न देशले सन् २०१४ मा उपलब्ध गराएको तथ्याङ्क अनुसार
भारतमा २ हजार २ सय २६,
रसियामा ४ सय ३३,
इन्डोनेसियामा ३ सय ७१,
मलेसियामा दुई सय ५०,
नेपालमा एक सय ९८,
थाइल्यान्डमा एक सय ८९,
बङ्गलादेशमा एक सय ६,
भुटानमा एक सय ३,
म्यानमारमा ८५
चीनमा सात,
भियतनाममा पाँच,
र लाओसमा दुई भन्दा बढी बाघ रहेको बताइएको छ। रासस-एपी