arrow

डोटी जीप दुर्घटना : मृत्यु हुने आठ जनामा डक्टर र प्राध्यापक पनि

logo
भुमिराज जोशी,
प्रकाशित २०७३ वैशाख १ बुधबार
Doti-hamrakura.jpg.jpeg
डोटी । डोटीको जिजोडामाण्डौं गाविस–३ मा भएको जीप दुर्घटनामा परी निधन हुनेको संख्या आठ पुगेको छ । डोटीको बनलेकबाट जिजोडामाण्डौ गइरहेको डडेल्धुरा सार्वजनिक यातायातको ना १ ज ३२९४ नं को बोलेरो जीप मंगलबार राती बरिब ८.३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निधन भएको हो । 
 
दुर्घटनामा जिजोडामाण्डौं गाविस–८ का ६२ वर्षीय प्राध्यापक डा.जयराज पन्त, उनकी धर्मपत्नि ५२ वर्षीया उप–प्राध्यापक गुड्डी पन्त, सोही ठाँउकी ५२ वर्षीया उप–प्राध्यापक सावित्रा पन्त, ६१ वर्षीय वरिष्ठ पशु चिकित्सक डा. गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको घटनास्थलमै निधन भयो ।
 
दुर्घटनामा गम्भिर घाइते भई उपचारका लागि लैजाने क्रममा बनलेक गाविस–१ का जीप चालक चेतराज बलायर र जिजोडामाण्डौं–८ कि मृतक हरिनाकी छोरी १७ वर्षीया जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।  जयराज पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापनरत थिए । वरिष्ठ पशु चिकित्सक गणेश पन्तले पशुस्वास्थ्य निर्देशनालयको समेत कार्यभार सम्हालेका थिए ।  
 
प्रहरी निरीक्षक ओझाका अनुसार कच्ची बाटोमा लोड बढी भएका कारण गाडी चढ्न नसकी पछाडी आएर सडकबाट करीब चार सय मिटर तल खसेको थियो । बाटो कच्ची त्यसमाथि पनि ठाडो थियो । दुर्घटनामा परी घाइते भएकी जिजोडामाण्डौं–८ की ४५ वर्षीया नर्मदा पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीया धनवहादुर टमटा, ३८ वर्षीया कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 
 
प्राध्यापक पन्तको परिवार बिहिवार देखि गाउँमा श्रीमद् भागवत सप्ताह पुराण महायज्ञ लगाउनका लागि काठमाण्डौंबाट आएका थिए । पोष्टमार्टमपछि पन्त परिवारको शव दाहसंस्कारका लागि कैलालीको गोदावरी लगिएको छ, भने भने टमटाद्वय र चालक बलायरको डोटी मै दाहसंस्कार गरिएको छ । दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका आफन्तहरुलाई यातायात व्यवसायी समितिले जनही २५ हजार रुपैयाँ अन्तिम संस्कारका लागि जिल्ला प्रहरी कार्यालयमै उपलब्ध गराएको छ । घाइतेहरुको उपचार गर्ने व्यवसायी समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ