काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ। ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको उद्घाटन मेयर चिरीबाबु महर्जनले गरेका हुन्। उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
बैंकलाई ग्राहकले गरेको विश्वास र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको कम्पनीले जनाएको छ।
करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।
त्यस्तै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।