arrow

व्यापारीको चित्त : ‘क्रिसमस मनाउनु पर्छ, व्यापार त हुन्छ’

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष ८ मंगलबार
cristmas.jpg

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवमा नेपाल पनि क्रिसमस मय हुने गरेको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस मनाइन्छ ।

ख्रीष्टमसको अवसरमा खास चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने गरिन्छ । नेपालमा राष्ट्रिय ख्रीष्टियन महासंघले महोत्सव नै आयोजना गरेको छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
 
क्रिसमसका अवसरमा नेपालका मुख्य शहराम विशेष रौनक हुन्छ । काठमाडौंको ठमेल, बौद्ध र उपत्यकाकै ललितपुर, भक्तपुरमा क्रिसमस मनाउनेको संख्या बढी छ । यस्तै, काठमाडौं उपत्यका बाहिर पोखरा, चितवन, वुटवल लगायतका ठाउँमा  क्रिसमस ट्रीलगायतले बजार एवं ठूला व्यापारिकस्थल सजाइएका भेटिन्छन् ।

नेपालमा चार सय वर्ष अघिबाटै क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरुको जिकिर छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि गरेको योगदान सम्झिँदै इस्वी संवत् चलाइएको विश्वास समेत गरिन्छ । क्रिसमस पर्व मनाएसँगै अंग्रेजी नयाँ वर्ष सुरु भएको मानिन्छ । संस्कृतिविद प्राध्यापक डा. जगमान गुरुङका अनुसार ख्रीष्टियनहरुमा पनि बलि प्रथा छ । उनी भन्छन्, ‘ख्रीष्टियनहरुमा पनि जसले सबैभन्दा बढी टर्की काट्न सक्यो त्यो वैभवशाली ख्रीष्टियनमा गनिन्छ ।’ यद्यपि, क्रिसमसमा भने मारकाट चल्दैन ।

नेपालमा शक्तिपीठमा दिईने वलिको विरोध हुँदा ख्रीष्टियनहरुले विरोध गरेको भन्ने आरोप लाग्छ । यस्तै आरोप लागिरहेका बेला डा.गुरुङले ख्रीष्टियनहरुकोमा पनि वलि छ भनेका हुन् ।  

नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । अहिले देशभर झण्डै १३ हजार हाराहारी चर्च रहेको बताइन्छ भने ललितपुरमा नेपालमा हालसम्मकै बड्ता लगानीमा ठूलो चर्च बन्दै छ ।

क्रिसमसबारे व्यापारीको बुझाई
त्रिपुरेश्वरका एक व्यापारीले क्रिसमस किन मनाइन्छ भन्ने भन्दा पनि हामी व्यापार गर्नेका लागि यो मनाइनु राम्रो हो, भने । उनको भाषामा, ‘क्रिसमस मनाउनु पर्छ, व्यापार त हुन्छ ।’ उनले आफुहरुले तीन–चार दिन व्यापार गर्न पाउने बताए । एक पल्ट सामान ल्याउँदा फाइदा राम्रै हुने र बचेखुचेको अर्को वर्ष पनि काम लाग्ने उनले बताए । घण्टी, लुगा, सेन्टा, टोपी लगायतको व्यापार राम्रै हुन्छ । क्रिममससँग सम्बन्धित सामाग्री स–साना केट्–केटी र युवायुवतीले नै किन्ने गरेको उनले बताए ।  

विद्यालय पढ्नेहरुको बुझाई
काठमाडौंको रत्नराज्य उच्च माविमा कक्षा ९ मा पढ्ने एक छात्राले क्रिसमसबारे राम्रै थाहा भएको बताईन् । हाम्रो मुलुकको संस्कृति होइन, उनले भनिन्, ‘अहिले अलिक बाक्लै बनाएको देखिन्छ । हिन्दूहरुको बडादशैँ जस्तै, ख्रीष्टियनहरुको क्रिसमस हो ।’ उनका अनुसार साथी साथीहरुबीच उपहार आदानप्रदान हुन्छ, तर विद्यालयमा मनाइँदैन । यो मनाउनु नराम्रो होइन, हामी ‘मल्टिकल्चरल’ हुनुपर्छ ।  

यस्तै, काठमाडौं जेभियर इंग्लिश स्कुलमा कक्षा ८ मा पढ्ने एक छात्रले क्रिसमसबारे अझ खुलेर बोले । क्रिसमसको दिन ‘क्रिसमस ट्री’ सजाए मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । निजी क्षेत्रबाट चलेका विद्यालयमा माहोल क्रिसमसमय हुने गरेको उनले सुनाए । सानो कक्षाका विद्यार्थीलाई क्रिसमसमा लगाईने लुगा, टोपी लगाएर आउन आग्रह गरिन्छ, उनले भने, ‘सर, मिस सबैले मेरी क्रिसमस भन्दै शुभकामना दिन्छन् ।’ उनका अनुसार यो दिन माछा मासु खाइँदैन । अन्य परिकार खाईन्छ, उपहार साटासाट गरिन्छ । देउसी भैलोजस्तो कार्यक्रम हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ