काठमाडौं । भारत–म्यानमार सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का नेपाल सम्म पुगेको छ । नेपाली समयानुसार ७ बजेर ४० मिनेट जाँदा गएको भूकम्पको गहिराई एक सय ३१ किलोमिटर रहेको बताइएको छ । निकैवेर हल्लाएको झट्का काठमाडौंसम्म पुगेको थियो । भूकम्पले भारतको दिल्ली, पट्ना, कोलकाता र पश्चिम बंगालको केही स्थानमा झट्का दिएको भारतीय संचारमाध्ययमले जनाएका छन् । संचारमाध्यमका अनुसार जनधनको कुनै क्षति भएको खबर छैन । त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पले दिल्ली र पूर्वी भारतका अधिकांश घरहरु चर्किएका छन् भने, स्थानीय त्रसित हुँदै घरबाहिर निस्किएका छन् । भूकम्पविद्हरुले फेरिपनि भूकम्पको पराकम्पन अर्थात् झट्का आउन सक्ने बताएपछि त्यहाँका नागरिक घरबाहिर निस्केको बताइएको छ । नयाँ वर्ष आरम्भकै दिन भूकम्पले हल्लाएपछि काठमाडौं सहित भूकम्प पीडित जिल्लाका स्थानीयहरु घर बाहिर निस्केका थिए ।
पूर्वाञ्चलमा धक्का बढी महसुश
नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो। धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए। भूकम्पको झट्काबाट भएको क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ।