काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई घेर्ने र सिंह दरबार घेर्ने आन्दोलनको तयारी गरिरहेको छ । मोर्चाले वैशाख ६ गते राष्ट्रिय सभागृहमा बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ । आन्दोलन शान्तिपूर्ण हुने नेताहरुले बताएका छन् । मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवले हाम्राकुरासंग भने, ‘६ गते बृहत्त अन्तरक्रिया हुन्छ, अन्य कार्यक्रम विहिबार बस्ने बैठकले तय गर्ने छ, विहिबार हामी छलफल गर्दै छौं ।’ विहिबार मोर्चाको बैठक संघीय समाजवादी फोरमको कार्यालयमा बस्न सक्ने यादवले बताए । आन्दोलन काठमाडौं केन्द्रित हुने बताउँदै यादवले भनेका छन्, ‘सरकारलाई घर्ने हाम्रो तयारी छ, कालोबजारी लगायत विभिन्न मुद्दाहरुमा हामी सबै उपेक्षित समुदायसंग समन्वय गर्दै छौं ।’
अबको आन्दोलन राष्ट्रिय एवं निर्णायक आन्दोलन हुने बताउँदै अध्यक्ष यादवले उद्देश्य सिंहदरबार घेराउकै हो–भने । आन्दोलनमा आदीवासी जनजाती एवं पहिचानबादीकोको सहभागिता रहने बताउँदै यादवले कुनै जाती विशेष नभई आन्तरिक उपनिवेशविरुद्ध हुने सुनाए ।
सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले भने तत्काल सिंहदरबार घेराउको कार्यक्रम नहुने बताए । उनले जेठ पहिलो साता सो कार्यक्रम हुन सक्ने जानकारी दिए । कार्यक्रमबारे विहिबार छलफल हुने र वैशाख ६ गते सार्वजनिक हुने सुमनको भनाई छ । उनले भने, ‘कार्यक्रम के हुने भन्ने तय भएको छैन, सिंहदरबार घेराउ लगायतका कार्यक्रम तय हुन सक्छन्, यकिन भएको छैन ।’ नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले आफु महाधिवेशनमै रहेकाले खासै जानकारी नभएको र विहिबारको बैठकबाट छलफलमा जुट्ने बताए । यद्यपि, चैत ६ गते सभागृहमा मध्यान्हपछि बृहत अन्तरक्रिया हुने झाले समेत सुनाए ।