arrow

यसरी संक्रमण फैलिएर अल्पायुमै ज्यान गयो पूर्वसचिव श्रेष्ठको 

logo
सीता डोटेल, 
प्रकाशित २०७६ पुष ११ शुक्रबार
shanta-bahadur-shrestha-(1).jpg

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधनको बिहीबार असामयिक निधन भएको छ । पाल्पावासी श्रेष्ठको निधनले स्थानीयमात्र हैन विकासप्रेमी जोकोहीलाई शोकमा पारेको छ । 

मात्र ५६ वर्षको उमेरमा उनको कसरी निधन भयो त भन्ने चासो पनि बढेको छ । निकट स्रोतका अनुसार उनी स्वास्थ्यप्रति सचेत थिए । उनले नियमित स्वास्थ्य परीक्षण पनि गराउँथे । 

त्रिवि शिक्षण अस्पताल पुर्याउँदा पूर्वस्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ अचेत थिए । उनको शरीरमा भाइरस र ब्याक्टेरिया संक्रमण सुनामीसरह फैलिएको थियो। ज्वरो आएको एक सातामै बिहीबार निधन भएको हो ।

उनको मिर्गौला, कलेजो लगायतका अंगमा संक्रमण बढेको चिकित्सकले बताएका छन् । पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सहप्राध्यापक डा निरज बमले श्रेष्ठ ज्वरो आएपछि अस्पताल आएको बताए ।

उनले भने, ‘रुघाखोकीको ज्वरोपछि निमोनिया भयो । मिर्गौला, कलेजोलगायतका अंगमा संक्रमण भएछ। रगतका माध्यमबाट संक्रमण शरीरभर फैलियो। जसले गर्दा ‘सेप्टिक सेमिया’ भयो। ‘सेप्टिक सक’ हुँदै मल्टि अर्गन फेलियर हुन पुग्यो।’

रगतका माध्यमबाट शरीरभर संक्रमणको असरले अंगमा क्षति पुर्याएको अवस्थालाई चिकित्सकीय भाषामा ‘सेप्टिक सक’ भनिन्छ। डा बमका अनुसार सेप्टिक सकले अंगहरूलाई फेल गराउँछ।

बिसन्चो भएको छोटो अवधिमा बढेको संक्रमणले श्रेष्ठको निधन हुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी चिन्तित देखिन्थे। 

पखाला, रुघाखोकी, निमोनिया, टाइफाइड, जन्डिस लगायतका समस्यामा पनि संक्रमणको जटिलता निम्तन सक्ने डा बम बताउँछन्। ‘संक्रमणले अन्तिममा सेप्टिक सक बनाउन सक्छ। ३० देखि ७० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ’, उनले भने।

संक्रमणको सकस

दुई साताअघि होलबडी चेक गराएका उनको प्रेसर सामान्य बढे पनि अन्य समस्या नभएको रिपोर्ट आएको थियो । उनले झण्डै हरेक महिना नियमित स्वास्थ्य परीक्षण गरिरहन्थे । श्रेष्ठले एक साताअघि मात्र बिसन्चो महसुस गरेका थिए। उनले भाइरलको शंका गर्दै सामान्य रूपमा लिए। 

ज्वरो आउन थालेपछि बल्ल भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमण बढेपछि वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले थप उपचारका लागि पहल गरे।

उनको मनमोहन कोर्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। त्यहाँबाट मंगलबार राति शिक्षण अस्पताल सारिएको हो । शिक्षण अस्पताल ल्याउँदा मिर्गौलामा पनि खराबी आइसकेको थियो। क्रियटिनिन बढेको थियो। मिर्गौला र कलेजो पनि खराब थियो। उनलाई अक्सिजनको मात्रा पुगेको थियो। एकैचोटि आईसीयूमा भर्ना गरियो।

‘हिजो बिहान सूचना पाएपछि जाँच गर्दा रक्तचाप नाजुक अवस्थामा थियो। पिसाबको मात्रा पनि घट्न थालेको थियो। क्रियटिनिन बढेको थियो’, उपचारमा संलग्न डा बमले बिहीबार भने।

रक्तचाप तलमाथि–तलमाथि भइरहेको थियो । भेन्टिलेटरको सहयोग लिँदा पनि अक्सिजनको मात्रा घटिरहेको थियो । मिर्गौलामा खराबी आएपछि उनको बुधबार दिउँसो डायलासिस गरिएको थियो। स्वास्थ्य झन्झन् बिग्रँदै गयो।

डा बमले भने, ‘ब्याक्टेरिया र भाइरसको तीव्र गतिमा संक्रमण बढेको देखिन्छ। यति छोटो समयमा सुनामी आएझैं संक्रमण शरीरका विभिन्न अंगमा फैलियो।’

स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘लामो बिरामी नभई एक्कासि सेप्सिस हुन पुग्यो । धेरै प्रयास गर्दा पनि बचाउन सकिएन।’ ब्याक्टेरिया र भाइरस किटाणु र त्यसको विष (टक्सिन) रगतमा सञ्चारित हुँदा सेप्सिस भएको उनले बताए।

प्राणघातक निमोनिया समयमै उपचार नभए निमोनिया प्राणघातक हुने चिकित्सकको भनाइ छ। डा बम भन्छन्, ‘सही समयमा उपचार नभए प्राणघातकसमेत हुन सक्छ। कुनैकुनै भाइरस औषधिलाई रेस्पोन्स नगर्ने खालका पनि हुन्छन्।’

६० वर्ष नाघेका ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता न्यून हुने हुँदा जोखिममा पर्छन्।

 ‘बच्चाहरूमा रोग प्रतिरोधात्मक शक्ति विकास हुने क्रममा हुन्छ। बूढाबूढीमा रोगप्रतिरोधात्मक शक्ति घटिसकेको हुन्छ। त्यसले गर्दा जोखिम बढी हुन्छ’, डा बमले भने।

तर पूर्वसचिव श्रेष्ठ ५६ वर्षमै रहेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ