arrow

कुलमान र डा सन्दुकले पाए सम्मान

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
kulman-sanduk.jpg

काठमाडौं ।  नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ ।

राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे । साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन सङ्घद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैया रहेको छ ।

समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताए । सबै प्रशासक, कर्मचारी,  नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उनको भनाइ थियो ।

उहाँले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गरे । “एक जना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उनीहरुबाट शिक्षा लिनुपर्दछ”, उपराष्ट्रपति पुनले भने ।

समारोहमा दुई वर्षको सम्मान एकै पटक प्रदान गरिएको थियो । ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पुर्‍याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको सम्मान छनोट समितिका संयोजक पूर्वसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए । डा रुइत मेगासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन्।

चौतिस वर्ष साल्ट ट्रेडिङमा काम गरी २५ वर्ष महाप्रबन्धक जिम्मेवारी सम्हालेका हेमबहादुर मल्लले संस्थालाई पहिचान योग्य बनाएको सो क्रममा स्मरण गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ