arrow

तरुण दलको महाधिवेशनको मिति तोकियो, को को गर्दैछन तयारी ?

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
Tarun-Dal-flag.jpg.jpeg
काठमाडौं । लामो समय देखि महाधिवेशन हुन नसकेको नेपाल तरुण दलको महाधिवेशनका लागि नयाँ मिति तय गरिएको छ । गत चैतको अन्तिम साता राजधानीमा भएको दलको बैठकले मिति प्रस्ताव गरेकोमा नेताहरुले समेत स्विकृति दिएकाले नयाँ मितिको निधो भएको हो ।महाधिवेशन र जिल्ला अधिवेशनहरुको कार्यक्रमका बारेमा जानकारी दिन तरुण दलले आज राजधानीमा पत्रकार सम्मेलन समेत आयोजना गरेको दलका पुर्व सचिव जन्मजय तिमिल्सीनाले जानकारी दिए । 
 
उनले विराटनगर, विरगञ्ज, पोखरा र बुटवल मध्ये कुनै एउटा शहरमा महाधिवशेन गर्ने तयारी भएको बताए । “महाधिवेशनस्थल र महाधिवेशनको मितिका बारेमा दलले प्रस्ताव गरेर नेताहरुसंग परामर्श गरेका थियौं, उहाँहरुले पनि स्विकृति दिनु भएकाले अव आज पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने भएको छ”, तिमिल्सीनाले भने । 
 
उनका अनुसार अहिले सम्म तरुण दलको २७ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भईसकेको छ भने १८ जिल्ला पुर्ण तयारी अवस्थामा रहेका छन् । वाँकी जिल्लामा यही जेठ २५ गते भित्रमा अधिवेशन गरिसक्ने निर्णय भएको छ । २५ गते सम्ममा अधिवेशन गर्न नसकेका जिल्लाहरुलाई महाधिवेशनमा सहभागी नगराउने सहमती भएको तिमिल्सीनाले बताए । उनले धेरै जिल्लामा विवाद नरहेको दावी गर्दै विवादित दुई, तिन जिल्लामा पनि मिल्न लागेको स्पष्ट पारे । 
 
जेठ २५ गते भित्रमा सवै जिल्ला अधिवेशनहरु सम्पन्न गरेर भदौ २४ देखि २६ सम्म महाधिवेशन गर्ने तरुण दलले निर्णय गरेको छ । जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने समयावधि केही हप्ता थपिन सक्ने र त्यसपछि बर्षायाम सुरु हुने भएकाले महाधिवेशन भदौमा गर्ने निर्णय भएको नेताहरुले बताएका छन् । 
 
तरुण दलको महाधिवेशनको मिति तय भएसंगै दलको नेतृत्वका लागि दावी गर्दै आएकाहरु फेरी सक्रिय हुन थालेका छन् । तरुण दलको अध्यक्षका लागि पुर्व सचिव तिमिल्सीना, पुर्व केन्द्रीय नेताहरु नारायण भट्टराई, मेदेनी सिटौला, टेकराज पौडेल, लक्ष्मी खतिवडा, नागेश्वर यादव, निरन्जन केसी, राधा घले, दामोदर कोईराला, हुर्मत न्यौपाने, खिमानसिं रायमाझी लगायतका नेताहरुले उम्मेदवारी दिने बताउदै आएका छन् । उनीहरु मध्ये पौडेल र खतिवडाले पार्टी केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका थिए।  
 
तरुण दलको महाधिवेशनको मिति तोकिएपछि अन्य भातृ संगठनहरुलाई पनि महाधिवेशनको मिति तय गर्न दवाव परेको छ। काँग्रेसका नेविसंघ, महिला संघ लगायतका भातृ संगठनहरुको महाधिवेशन निधारित समयमा हुन सकेका छैनन । 
 
हरेक तीन तीन बर्षमा महाधिवेशन हुनुपर्नेमा २०६४ साल देखि महाधिवेशन हुन सकेको छैन । समयमा तरुण दलको महाधिवेशन नहुदा कतिपय नेताहरु उमेरका कारण दल छाड्न वाध्य भएका छन । तरुण दलमा ४५ बर्ष नाघेपछि स्वतः सदस्यता खारेज हुने व्यवस्था रहेको छ। तरुण दललाई नेपाली कांग्रेसको नेतृत्व उत्पादनको उर्वर भूमीको रुपमा लिईन्छ। तरुण दलको नेतृत्व हाँकेर पार्टीको जिम्मेवारीमा गएकाहरुको अहिले पार्टीमा पनि राम्रो प्रभाव देखिन्छ । 
 
तरुण दलका पुर्व अध्यक्ष बालकृष्ण खाँण पटक पटक मन्त्री तथा सांसद भएका छन भने अहिले पार्टीको पदाधिकारीका लागि कसरत गरिरहेका छन । उनकै कार्यकालका सचिव धनराज गुरुङ पार्टीको केन्द्रीय सदस्य तथा सांसद छन् । दलका पुर्व अध्यक्ष महेन्द्र यादव र दलका पुर्व केन्द्रीय सदस्य शंकर भण्डारी सांसद तथा पार्टी केन्द्रीय सदस्य भएका छन् भने दलका पुर्वउपाध्यक्ष भिष्मराज आङदम्वे केन्द्रीय सदस्य तथा संसदीय समितिका सभापति, दलका पुर्वमहासचिवद्धय सुरेन्द्र पाण्डे र गोविन्द भट्टराई पार्टी केन्द्रीय सदस्य भएका छन् । 
 
दलको अध्यक्ष भएर पनि पार्टीको प्रभावशाली जिम्मेवारीमा नपुग्नेमा महादेव गुरुङ र विनोद कायस्थ मात्रै हुन् । अर्का पुर्व महासचिवद्धय अनिलकृष्ण प्रसाई र पुष्प पराजुली पनि पार्टीको काममा लागेको धेरै भएपनि महत्वपुर्ण जिम्मेवारी पाउन सकेका छैनन । 
 
कांग्रेसका संस्थापक नेता विपी कोईरालाले युवाहरुलाई राजनितिक अधिकारका लागि अग्रसर गराउने उद्धेश्यले २०१० साल कार्तिक १० गते नेपाल तरुण दलको स्थापना गरेका थिए । दलका पहिलो अध्यक्ष सिंहध्वज खड्का हुन् । उनकै नेतृत्वमा थापाथलीमा आयोजित दलको महाधिवेशन उद्घाटनका क्रममा २०१७ पुस १० गते राजा महेन्द्रले कु गरेर विपी कोईरालालाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरी शासन सत्ता हातमा लिएपछि तरुण दललाई प्रतिवन्ध लागेको थियो । तरुण दलको पुर्नस्थापना भने २०५४ सालमा भएको हो । नेपालगञ्जमा भएको पार्टीको महासमिति बैठकले विधान संशोधन गर्दै तरुण दललाई पुर्नस्थापना गर्ने निर्णय गरेपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले नेपाल विद्यार्थी संघका पुर्वअध्यक्ष बालकृष्ण खाँणलाई अध्यक्षमा मनोनयन गरेका थिए । उनले दलको विधान, संगठन लगायतका सम्पुर्ण काम गरे । खाँणकै नेतृत्वमा दलको दोस्रो महाधिवेशन २०५८ सालमा गरी उनी आफै सर्वसम्मत पुनः अध्यक्षमा निर्वा्चित भए । 
 
खाँणपछि महादेव गुरुङ, विनोद कायस्थ र महेन्द्र यादव क्रमशःअध्यक्ष भए । अहिलेका अध्यक्ष उदयशमशेर राणलाई भने दलको अधिवेशन ६ महिनामा गर्न भन्दै सभापति सुशील कोईरालाले २०६८ माघमा मनोनयन गरेका हुन् । 



नयाँ