arrow

चैते दशैं बैशाखमा मनाइदै; रामनवमीको मेला सुरु

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
ram-navami-festival.jpg.jpeg
काठमाडौं। तिथीका कारणले २०७२ सालको चैते दशै २०७३को वैशाखको शुरुवातमा परेको छ। यस बर्षको बैशाखमा परेको चैते दशैको अवसरमा विभिन्न धार्मिक स्थानमा रामनवमीको मेला सुरु भएको छ। 
 
धार्मिक क्षेत्र गोद्धकमा रामनवमीको मेला सुरु
उचित प्रचार नहुँदा प्रसिद्ध भएर पनि ओझेलमा परिरहेको दक्षिण माडी नगरपालिका–३ द्रौपतीनगरमा रहेको धार्मिक क्षेत्रमा गोद्धक मेला सुरु भएको छ । रामनवमी पर्वका अवसरमा आयोजना हुँदै आएको चितवनबाट चालीस किलोमिटरको दुरीमा पर्ने यो मेलामा भारतबाट समेत सयौँ तीर्थालु आउने गर्दछन् । विशेषगरी पाँच पाण्डव बसेको स्थान र परशुरामले तपस्या गरेको स्थलको स्मरणमा यहाँ मेला लाग्ने गर्छ । गोद्धक क्षेत्र पुगेर दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नाश हुने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्ण चौधरीले बताउनु भयो । पाँच पाण्डव बसेको क्षेत्रका रुपमा गोद्धकलाई लिइने गरिन्छ । 
 
गोद्धक मेला व्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद अधिकारीले मेला अवलोकन तथा परशुराम कुण्ड स्नान गर्न आउने भक्तालुको विगतभन्दा चहलपहल बढेको बताउनुभयो । गोद्धक मेला आउने मध्ये मनोरम झरना रहेको परशुराम कुण्ड हेर्न आउनेहरु धेरै हुने गरेका छन् । प्राचीन किंवदन्तीअनुसार परशुराम कुण्डमा परशुरामले तपस्या गरेका थिए । सोमेश्वर पर्वतबाट झरेको मनोरम झरना परशुराम कुण्डमा बगेको छ । परशुराम कुण्डमा नुहाएमा पाप नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । 
 
गोद्धक मेला व्यवस्थापन समितिका सचिव अमर थापाले मेला अवलोकन गर्न आउने तीर्थालुलाई सहज रुपमा बस्न तथा खानाको व्यवस्था मिलाइएको बताउनुभयो । गोद्धक क्षेत्रमा करिब ५०० भक्तालु बस्न मिल्ने धर्मशाला तथा चारवटा होमस्टे सञ्चालनमा छ । 
मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, विरोलानाथ, झन्डी डाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकन गर्न पाइन्छ । माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष जीतेन्द्रबहादुर भण्डारीले गोद्धक क्षेत्रको धार्मिक महत्व उजागर हुन नसक्दा ओझेलमा परेको बताउनुभयो । गर्दी पर्यटन समितिका अध्यक्ष छविलाल भट्टराईले गोद्धक क्षेत्रको प्रचार–प्रसार गर्न सके जिल्लाकै धार्मिक पर्यटनको केन्द्र बन्ने बताउनुभयो । मेला यही वैशाख ५ गतेसम्म चल्नेछ । रासस 
 
ऐतिहासिक चैत्राष्टमी मेला सुरु
बागलुङमा लाग्ने ऐतिहासक चैत्राष्टमी मेला बुधबारदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा चैतै दसैँका अवसरमा आयोजित मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला सुरु गरिएको हो । बागलुङमा दशकौँअघि देखि हुँदै आएको चैत्राष्टमी मेला देशमै प्रसिद्ध मानिन्छ । पवित्र शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा सुरु भएको मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम राखिएको छ । 
 
मेलास्थल वरपर विभिन्न घरेलु उत्पादनका वस्तु बिक्रीका लागि राखिएको छ । मेलामा राष्ट्रिय लोकदोहारी प्रतियोगिता, भलिबल, छेलो र घैँटो फोर प्रतियोगिता प्रमुख आकर्षणका रुपमा रहेका छन् । स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन, मौलिक कला, संस्कृतिको प्रस्तुति पनि राखिएको मूल आयोजक समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । बुधबार चर्चित लोकगायक खड्ग गर्वुजा लगायतका कलाकार ले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ