arrow

सर्लाहीका उखु किसान माइतीघरमा

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
sugarcane-farmers-harvest.jpg

काठमाडौं ।  चिनी मिलहरुले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौँमा प्रदर्शन गरेका छन् ।  सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी नगरेका भन्दै आज उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

 तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर  स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका उनीहरु अहिले यहाँ आई सरकारको ध्यानाकर्षण गराएका हुन् । रामनगर गाउँपालिकाका मायाशङ्कर यादवले मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए । उनका अनुसार करिब पाँच हजार किसानले चिनी मिलबाट करिब रु ८१ करोड लिन बाँकी रहेको छ ।

अन्नपूर्ण चिनी  मिलले रु ६० करोड र महालक्ष्मी मिलले रु २१ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको  छ । उनले भने “उखुको रकम रकम नपाउँदा  जीविकोपार्जनमा समस्या भएको छ ।  मिलबाट रु २५ लाख  लिनुपर्छ । ”

 भुक्तानी नपाएपछि किसानले सो  मिलमा ताला समेत  लगाएका छन् । उखु किसान सुखलाल सहनीले पटक पटक स्थानीय तहमा सहमति गरे पनि आफूहरुले उखुको भुक्तानी नपाएपछि यहाँ आएर आन्दोलन गर्नुपरेको दुःखेसो व्यक्त गरे । उनले भने “केन्द्र सरकारलाई किसानका समस्याबारे जानकारी गराउन आन्दोलनमा उत्रेका हौँ । ”

उनीहरुले सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम समेत भुक्तानी गर्नुपर्ने  माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ