असार मसान्तभित्र काठमाडौँमा मेलम्चीको पानी भित्र्याउन सरकारलाई निर्देशन
प्रकाशित २०७६ पुष १४ सोमबार
950
Shares
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्र्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले पछिल्लो सम्झौतानुसार तोकिएकै अवधिमा काम सम्पन्न गरेर काठमाडौँ उपत्यकामा खानेपानीको सुनिश्चित गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको हो ।
समितिले आयोजनामा भुक्तानी गर्न बाँकी आपूर्तिकर्ताको समस्या समाधानका लागि गठित समितिको प्रतिवेदन बुझाउन पनि मन्त्रालयलाई निर्देशन गरेको छ । यसअघि निर्माणमा काम गरेको इटालीको कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी रहेका आपूर्तिकर्ताका विषयमा निर्णय गर्न मन्त्रालयका सहसचिवको अध्यक्षतामा समिति बनेको थियो ।
आयोजना निर्माण स्थलमा खानेपानी, सडकलगायतका पूर्वाधारको विकास गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणीकुमारी खडकाले मेलम्ची खानेपानी आयोजना चाँडो सम्पन्न गर्न मेलम्ची खानेपानी विकास बोर्डलाई आवश्यक सहयोग गर्न समिति तयार रहेको बताइन् । विगतमा पनि आयोजनामा रहेको समस्या समाधान गरेको भन्दै उनले आगामी दिनमा पनि काममा पुगेको बाधा फुकाउन सरकारलाई आवश्यक सुझाव दिइने बताइन्।
बोर्डका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले इटालीको निर्माण कम्पनीले काम गर्दाको कतिपय निर्माण सामग्री बिग्रिएको र कतिपय अहिले पनि प्रयोग गर्न मिल्ने अवस्थामा रहेको बताए । अहिलेसम्म यहाँ रहेको गिट्टी र बालुवा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको छ । उनले भने, “ती सामग्री अहिले काम गरिरहेको चिनियाँ कम्पनीलाई दिनसके त्यसबाट आपूर्तिकर्तालाई झण्डै रु डेढ करोडसम्म भुक्तानी गर्न सकिन्छ ।”
पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीको पानी काठमाडौँ ल्याउँदा त्यहाँको वासिन्दाले पनि सुविधा पाउनुपर्ने बताए । सरकारले प्रभावित क्षेत्रमा सडक, खानेपानी, बिजुलीलगायतका पूर्वाधारको विकासमा सहयोग गर्नुपर्नेमा उनको जोड छ । समितिका सदस्य गणेशकुमार पहाडीले आफूले निर्माण स्थल पुग्दा निर्माण कार्य अघि बढेको देखेको भन्दै समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । समितिका सदस्य विनाकुमारी श्रेष्ठले आयोजनाले बाँकी काम समयमै सम्पन्न गरेर उपत्यकावासीले मेलम्चीको पानी पाउनुपर्ने बताए ।