फेरी विवादमा 'द कपिल शर्मा शो', भारतीलाई हटाउन माग
प्रकाशित २०७६ पुष १५ मंगलबार
598
Shares
काठमाडौं । बर्ष २०१९ 'द कपिल शर्मा शो' को लागि मिश्रित रह्यो। एकातिर कपिलको शोले टीआरपीमा राम्रो प्रतिक्रिया पाएको छ भने अर्कोतर्फ शो विभिन्न कारणले गर्दा विवादास्पद पनि बनेको छ।
बर्षको अन्त्यमा शो फेरि नकारात्मक कारणहरूले चर्चामा रहेको छ । कार्यक्रममा जबर्जस्त श्रोताहरुलाई हसाँउने भारती सिंह बिरुद्द धार्मिक भावनामा चोट पुर्याएको मुद्दा दर्ता गरिएको छ । जसपछि भारतीलाई शोबाट हटाउने माग बढेको हो।
भारतीसहित अभिनेत्री रवीना टण्डन र कोरियोग्राफर तथा फिल्म निर्माता फराह खानलाई पन्जाब पुलिसले क्रिसमसको पूर्वसन्धामा प्रसारित कार्यक्रममा एक समुदायको भावनामा चोट पुर्याएको उजुरी दर्ता गरेको छ । भारती, रवीना, फराहले इसाई धर्मावलम्बीहरुको भावनालाई चोट पुर्याएको आरोप लगाईएको छ।
उजुरी दायर गरिएदेखि नै भारतीलाई कार्यक्रमबाट निष्कासन गर्न माग सामाजिक सञ्जालमा झन् झन् भाइरल भइरहेको छ। निवेदनमा करीव सात हजार व्यक्तिले अहिलेसम्म हस्ताक्षर गरेका छन्।
विवाद बढेसँगै फराह खानले शुक्रबार ट्वीट गरेकी छन् । उनले ट्वीटमा लेखेकी छन्, 'म सबै धर्मको सम्मान गर्दछु र कुनै पनि धर्मको अनादर गर्ने मेरो उद्देश्य कहिल्यै थिएन। रवीना टण्डन, भारती सिंह र सम्पूर्ण टीमको तर्फबाट म जनतासँग माफी माग्छु।'
रवीना टण्डनले पनि ट्वीट गर्दै लेखिन्, 'मैले कुनै पनि धर्मको अनादर हुने कुनै शब्द भनेको छैन। हामी तीन जनाको कुनै धर्म अपमान गर्ने मनसाय थिएन। यदि कसैलाई चोट पुर्याइएको छ भने हामी उनीहरूसँग माफी चाहन्छौं।'
कपिलको शोसंग सम्बन्धित कलाकार विवादमा परेको यो पहिलो घटना भने होइन। यसभन्दा पहिले नवजोत सिंह सिद्धू आफ्नो वक्तव्यका कारण शोबाट बाहिरिनु परेको थियो।