काठमाडौं । नेपालमा वैैशाख ४ र ६ गते हुने ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन’ले उत्साहजनक माहोल सिर्जना गरेको छ । विविध कठिनाई तथा शंका उपशंकाबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमै प्रतियोगिता आयोजना गर्नु मुलुककै लागि गौरवको विषय मात्र नभई राष्ट्रिय आम चाँसोको विषय हो ।
क्रिकेट समर्थक मात्र नभई आम नागरिकको यसमा उत्साह र चासो छ । नेपाल र नामिवियाबीच दुईवटा श्रृङ्खलामा हुन लागिरहेको सो प्रतियोगितामा परम्परागत टिकट प्रणालीको अन्त्य गर्दै इ–सेवाले आधुनिक टिकट प्रणालीको सुरूवात गरेको छ । झन्झटिलो तथा बढी खर्चिलो प्रक्रियालाई आधुनिक तथा कम खर्चिलो प्रक्रिया तथा सुविधाको हिसाबले समेत हेरिएको यो प्रणालीले केही बेफाइदा गर्ने गरेको भएपनि यसले गर्दा धेरै सहज महसुश भएको सेवाग्राहीहरू बताउँछन् । आफूले ग्राहकको सुविधा तथा आयोजकको सुविधालाई समेत ध्यानमा राखेर टिकट विक्रिलाई चूस्त र सरल बनाएको इ–सेवाको दाबी छ । तर, कस्ता छन् त यसका फाइदा बेफाइदा तथा यसको सम्पूर्ण आर्थिक पाटो ?
यसलाई भनिन्छ इ–सेवा
इ–सेवा भनेको कुनै सेवा तथा सुविधा लिनको लागि घरमै बरेर तथा आफ्नो नजिकैको इ–सेवाका एजेन्टहरू कहाँ गएर आफूलाई चाहिएको सेवा उपयोग गर्नसक्ने प्रणाली नै इ–सेवा हो । सात वर्ष अघि अर्थात् सन् २००९बाट नेपालमा सुरू भएको इ–सेवाले अहिलेसम्म विभिन्न दूरसञ्चार तथा केवल च्यानलहरूको विल भुक्तानीको सेवासहित अनलाइन टिकेट, बस, हवाई टिकेट लगायतको टिकेट पनि विक्री गरिरहेको जनाएको छ । हालसम्म पाँच लाख बढी ग्राहक तथा १५ हजार भन्दा बढी एजेन्ट रहेको इ–सेवाले ३०–३५ जनालाई टिकट विक्रीमा खटाएको तथा बाँकी १५ जना खेलको दिन थप गर्ने योजना रहेको इ–सेवाले जनाएको छ ।
इ–सेवा आवश्यक किन ?
नेपालमा इन्टरनेटको सुविधा विस्तार भएसँगै उपभोक्ताहरुले इन्टरनेटबाट सम्भव हुने अर्थात् भएसम्म शारिरीक परिश्रमको विकल्प खोज्ने गरेको कुरा स्वभाविकै रुपमा सबैलाई जानकारी छ । यद्यपि, कतिपय कुरा विलाशीता तथा परिश्रमको विकल्पमा मात्रै नभएर व्यवस्थित ढङ्गले कुनै कार्य सम्पन्न गर्नको लागि समेत इन्टरनेटको सुविधा आवश्यक हुन सक्छ । नेपालको घरेलु मैदानमै यही वैशाख ४ र ६ गते हुन लागेको ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन’ क्रिकेटमा समेत इ–सेवाले दिएको अनलाइन टिकट विक्री प्रणालीले धेरै सुविधा दिएको आयोजकले जिकिर गरेका छन् ।
आयोजक तथा दर्शकहरूको लागि समेत यो सुविधाको विषय बनेको छ । सबैभन्दा पहिलो कुरा यो प्रणालीबाट टिकट विक्री गर्दा पहिलेको जस्तो कालोबजारी शुन्यमा झार्न सकिएको इ–सेवाका व्यवस्थापक अरूण फुयालले जानकारी दिए । यसरी दिइने टिकेटमा उल्लेख भएको नाम बाहेक अन्यले टिकेट लिनै नसक्ने भएकाले पनि यसका कालोबजारीको सम्भावना नरहेको फुयालको जिकिरहरु छ ।
यसरी अनलाइन टिकेटको सुविधाले दर्शकहरूको लागि समेत सुविधा दिएको छ । इ–सेवाको ग्राहक बनेकाहरूले घरमै बसेर र ग्राहक नबनेकाहरूले नजिकैको इ–सेवाको एजेण्ट रहेका पसलमा गएर पनि टिकेट खरिद गर्न सकिने छन् । उता, आयोजकको लागि भने अहिलेसम्म कति टिकट विक्री भयो, सहज रूपमा रकम संकलन गर्न तथा वास्तविक मुल्यमा ग्राहकहरूको सेवा दिन इ–सेवाको टिकट प्रणालीले सहयोग गर्ने जिकिर व्यवस्थापक फुयालले जानकारी दिए ।
परिचयपत्र अनिवार्य
अनलाइन टिकट प्रणालीको कारणले मैदानमा क्रिकेट हेर्न जाने दर्शकले आफ्नो टिकेटसंग मिल्दो नाम भएको परिचयपत्र अनिवार्य बोक्नु पर्नेछ । प्रवेशको लागि टिकट र परिचयपत्रको नाम रूजु गरेर मात्रै प्रवेश दिइने हुँदा परिचयपत्र अनिवार्य गरिएको हो । परिचयपत्र र टिकेट हेरेर पठाउन थालेपछि कसैले पनि टिकटमा कालोबजारी गर्न नसक्ने भएकोले यस्तो गरिएको फुयालको भनाई छ । फुयालले लाइसेन्स तथा अन्य कुनै परिचय खुल्ने कार्ड सबैको साथमा हुने भएकोले यो प्रक्रियाले कसैलाई पनि समस्या नपर्ने जिकिर गरे । उनका अनुसार बारकोड स्क्यानरको प्रयोगबाट नक्कली र सक्कली टिकेटको जाँच हुने भएकोले नक्कली टिकेटको प्रयोग हुने सम्भावना छैन ।
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीको लागि सहुलियत टिकट सकिँदै
यसैबीच, त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई टिकटमा ५० प्रतिशत सहुलियत प्राप्त गर्नसक्ने घोषणा गरेको समयावधि विहिबार सकिँदै छ । टिकट व्यवस्थापनको जिम्मा पाएको इ–सेवाले चैत मसान्त र वैशाख एक गतेको लागि भनेर तोकेको भएपनि वैशशाख एक गते सार्वजनिक विदा परेकाले विहिबारसम्मको समय तोकिएको जनाइएको छ ।