काठमाडौँ । सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई मातृशोक परेको छ । सिटिजन्स् बैंकका सिइओ तथा युवा अर्थशास्त्री गणेशराज पोख्रेललाई मातृशोक परेको हो ।
उनकी आमा दुर्गादेवी पोख्रेलको ७८ वर्षको उमेरमा निधन भएको छ । वर्दिया गुलरियास्थित आफ्नै निवासमा दुर्गादेवीको पुस १३ गते निधन भएको थियो ।
समाजसेवी स्वर्गीय पोख्रेल रामेछाप जिल्लाको मन्थलीमा नारायणप्रसाद न्यौपाने र हरिप्रियाको पाँचौ सन्तानको रुपमा जन्मई सिन्धुलीको खुर्कोटका खेटराज पोख्रेलसंग विवाह भई वर्दिया गुलरिया वसोवास गर्न पुगेकी थिइन् ।
उन विगत ६ दशकदेखि वर्दियामा रहेर अनेक धार्मिक, सामाजिककार्यहरु गरी स्थानीय क्षेत्रमा अत्यन्त उदाहरणीय समाजसेवीका रुपमा स्थापित थिइन् । उनका पति खेटराज उपाध्यायसहितको सक्रियतामा गुलरियामा प्रसिद्ध वगलामुखी मन्दिरको निर्माण भएको छ ।
करीव ८३ वर्षको उमेरमा समेत खेटराज निरन्तर समाजसेवामा अद्यावधि तल्लीन छन्। पत्नी वियोगमा रहे पनि सकुन्जेल समाजसेवा गरिनै रहनेमा उनको प्रतिबद्धता छ ।
दुर्गादेवी पोख्रेलका पाँच सन्ततिहरु सुधा पराजुली, शान्ता दाहाल, गणेशराज, सुनिलराज , प्रमोदराज रहेका छन् । उनकी कान्छी छोरी शान्ता दाहालले आफ्नो कलेजो दान गरी समाज सेवाको विशिष्ट मानवीय उदाहरण प्रस्तुत गरेका थिए ।
आफ्ना मामा वरिष्ट शल्यचिकित्सक डा. गोविन्द प्रसाद शर्मालाई ०६८ सालमा शान्ताले कलेजो दिएपछि यसै विषयमा केन्द्रित रही यस हरेकपलका प्रधान सम्पादक पुरुषोत्तमदाहालको चर्चित उपन्यास शान्ता नेपाली र अंग्रेजीमा समेत प्रकाशित छ ।
पोख्रेलका छोराहरु सुनिल त्रिविका अधिकृत र प्रमोद वैंकमा कार्यरत छन्। स्वर्गीय पोख्रेलका नौ जना नातिनातिनी छन्।