मुगु । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा भएसँगै नेपाली काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनाइ आएको बताएका छन् । एमाओवादीले आज गमगढीमा आयोजना गरेको बृहद जनसभालाई सम्बोधन गर्दै दाहालले भने, “संविधान घोषणा हुनुअघि नेकपा (एमाले)को नेतृत्वमा बन्ने सरकारमा प्रमुख दल सहभागी हुने समझदारी भए पनि काँग्रेस वर्तमान सरकारमा नहुँदा संविधान कार्यन्वयनमा कठिनाइ भएको छ ।”
स्व गिरिजाप्रसाद कोइरालको निधनपछि राजनीतिक अविभावकको जिम्मेवारी आफूमा आएको बताउँदै अध्यक्ष दहालले प्रमुख दलको सहभागिता र समझदारीमा राष्ट्रिय सरकार बनाउने पहलकदमी आफूले लिने बताए । यद्यपि, अध्यक्ष दाहालले वर्तमान सरकार गिराएर आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा आफू नरहेको स्पष्ट पारे ।
नेपाली जनताले गतवर्ष भूकम्प र नाकाबन्दीको पीडा सामना गर्नु परेपनि जननिर्वाचित संविधानसभाबाट संविधान बनाउने सात दशकदेखिको सपना पूरा भएको बताउँदै दाहालले यस अवधिमा राजनीतिक दलले कसैको घेराबन्दी र धम्कीमा नपरी एक जुट भई राष्ट्रिय एकता प्रदर्शन गर्दा विश्व नै चकित परेको बताए । प्रमुख सत्ता साझेदार एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका अध्यक्ष दाहालले नयाँ संविधान घोषणा भएपछिको पहिलो बजेट, नीति तथा कार्यक्रम समयमै आउने बताए ।
दाहालले आफू राजधानी फर्केलगत्तै रारा बृहत विकास पर्यटन बोर्ड गठन गर्ने, ६ नं प्रदेशको आर्थिक नाकाको रुपमा रहेको नाक्चे–लाग्ना–मुगु–चीन सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी बजेटको व्यवस्था मिलाउने, खडेरी विशेष कार्यक्रम ल्याउने र जनताले फरक अनुभूति गर्न सक्ने खालका कार्यक्रम समावेश गर्ने गरी बजेट तयार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।